काठमाडौँ — नेपाली सेनाका वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएसँगै अर्का उपरथी अशोकराज सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका छन् ।


ADVERTISEMENT


रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको छ । छानबिनकै क्रममा रहेको अवस्थामा उपरथी पाण्डेले बिहीबार राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


उपरथी पाण्डेले दिएको राजीनामा सैनिक मुख्यालय जंगी अड्डाले शुक्रबार रक्षा मन्त्रालयमा पठाएको थियो । बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागेको थिएन ।

वरिष्ठताका आधारमा उपरथी पाण्डे नयाँ प्रधानसेनापतिको दाबेदार थिए । तर उमेरमाथि प्रश्न उठेपछि सेनाभित्रै छानबिन अघि बढ्यो । यहीबेला पाण्डेले राजीनामा दिएपछि अब नयाँ बन्ने प्रधानसेनापतिको लाइनमा उपरथी सिग्देल आएका हुन् । पाण्डेले राजीनामा दिएपछि उपरथी सिग्देल सेनामा वरिष्ठ उपरथी भएका छन् । रिक्त रथी पदमा उनी बढुवा भएमा एक वर्षपछि उनी प्रधानसेनापति बन्नेछन् । सैनिक सेवा नियमावली अनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ ।

जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्दै गत असोज ३० मा ७ दिने उजुरी आह्वान गरेको थियो । उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् । सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका छन् ।

प्रधानसेनापति शर्माको ३ वर्षे कार्यकाल अर्को वर्षको भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा अब सिग्देल नै प्रधानसेनापति बन्ने छन् । सिग्देल २०७६ असोज १७ गते उपरथी दर्जामा पदोन्नति भएका हुन् । उनीसँगै गोकुल भण्डारी उपरथीमा बढुवा भएका थिए । तर भण्डारी अवकाशमा गइसकेका छन् ।