काठमाडौँ – अपराध अनुसन्धानमा यसवर्ष ‘रियो’ उत्कृष्ट कुकुर ठहरिएको छ । जर्मन सेफर्ड जातको ‘रियो’ अहिले नेपालगन्जमा छ । तिन–चारवटा अपराधको घटना अनुसन्धानमा ‘रियो’ले राम्रो काम गरेको हुनाले वर्षको उत्कृष्ठ कुकुरबाट पुरस्कृत गरिएको नेपाल प्रहरी केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले बताए ।
अपराध अनुसन्धानमा खटिने कुकुरहरूलाई प्रहरीको केनाइन महाशाखामा पूजा गरिएको छ । कुकुर तिहारको अवसरमा महाराजगन्जस्थित केनाइन महाशाखामा कुकुरहरूले कला प्रदर्शनी गरेका छन् ।
कला प्रदर्शनीमा जर्मन सेफर्ड जातको कुकुर ‘टाइगर’ रनिङतर्फ प्रथम भएको छ । टाइगरलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले पुरस्कृत गरेका छन् । बाधापार र हाई जम्पमा ‘रोज’ प्रथम भएको छ । बेल्जियन सेफर्ड जातको रोजलाई पनि एआईजी तामाङले मेडल सहित पुरस्कृत गरेका हुन् ।