काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–०८१ को साउन, भदौ, असोज र कात्तिक महिनामा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।
जसबाट प्राधिकरणले १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणका अनुसार उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । अघिल्ला आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरेको थियो । जसबाट ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन भएको थियो ।
प्राधिकरणका अनुसार चालु आवको साउन महिनामा २ अर्ब १४ करोड ७६ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । यस्तै भदौ महिनामा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ कमाएको छ । यस्तै असोज महिनामा प्राधिकरणले ४ अर्ब १७ करोड ७७ लाख तथा कार्तिक महिनामा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँ आर्जन भएको छ ।
प्राधिकरणले वर्षायाममा देशभित्र खपत गरी बचत भएको भारत निर्यात गर्दै आएको छ भने हिउँदको समयमा अपुग विजुली भारतबाट आयात गर्दै आएको छ । जसअनुसार प्राधिकरणले गत जेठ २८ बाट भारतमा बुजली निर्यात गर्न सुरु गरेको थियो । त्यसयता प्राधिकरणले विजुली बेचेर १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ कमाएको छ ।