काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी फागुन १ गते वसन्तपुरमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने बताएका छन् ।
आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफुहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् । वैदिक सनातन सापेक्ष मुलुक बनाई राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौँको वसन्तपुरमा ज्ञानेन्द्र शाहकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र सहित परिवर्तनको घोषणा गर्ने उनको जिकिर छ ।
महाभियानको दवावमूलक कार्यक्रम आफुहरुको माग पुरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनका लागि भएको उनले जनाए । आफुहरुको यसअघिको आन्दोलन निकै सफल भएको भन्दै अबको आन्दोलन विकेन्द्रित हुने उनले जानकारी दिए ।
उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने , अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने लगाएतका मागहरु रहेको बताए ।