काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषको सञ्चालक सदस्यमा राजनसिंह भण्डारी नियुक्त भएका छन् । गत मंसिर १२ गते भण्डारीलाई कोषको सञ्चालक सदस्यमा मनोनयन गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।
प्रवक्ता घिमिरेले भने, ‘राष्ट्र बैँकदेखि नेपालको बैँकिङ क्षेत्रमा लामो नेतृत्वदायी भूमिका र क्षमताका कारण उहाँलाई कोषको विकास र समृद्धिका लागि योगदान पुग्ने विश्वासका साथ नियुक्त गरिएको हो ।’ भण्डारीको बैंक वित्तीय संस्थामा चार दशक बढी अनुभव रहेको छ । उनले सन् १९८० देखि २००६ सम्म नेपाल राष्ट्र बैंकको विभिन्न पद हुँदै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्ष समेत बनिसकेका भण्डारीले नेपाल क्लियरिङ हाउस र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को समेत अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले सिटिजन्स बैंकमा सन् २००७ देखि २०१८ सम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सोही बैंकमा २०१९ देखि २०२३ सम्म अध्यक्षको जिम्मेवारी सफल बनाईसकेका छन् ।
बैंक तथा वित्तीय संस्थामा सम्मानित र अनुभवी भण्डारी अर्थशास्त्रमा स्नातकोत्तर र पेशाले चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । उनको नियुक्तिसँगै सामाजिक सुरक्षा कोषको विकास र यसको उद्देश्य प्राप्तिमा फलदायी भूमिका निर्वाह हुने आर्थिक क्षेत्रका विज्ञहरू बताउँछन् ।