– नन्दी केशर पौड्याल


ADVERTISEMENT


पूर्खादेखि मानिँदै आएका चलन नै परम्परा हुन् । ती पुर्ख्यौली चलनमा एक प्रकारको मोहममता बसेको हुन्छ । ती छोड्न नहुने ठानिएका हुन्छन् । ती पारम्पारिक चलन छोड्दा आफ्नो अस्तित्वमा नै घुनपुत्ली लाग्ने डर हुन सक्छ । पुर्ख्यौली भनेको आफूदेखि उभोका वंशवली वा वंश लहरो हो ।


ADVERTISEMENT

# # #


मौरीले बढो मेहेनतले मह संग्रह गर्छ तर त्यो मह आफूले खान नपाई मान्छेले खोसिदिन्छन् । मौरी हाम्रो गुरु हो । जुन चिज भविष्यमा काम लाग्दैन त्यो चिज संग्रह नगर्नु भन्ने सन्देश मौरीले दिन्छ । यो हाम्रो आध्यात्म दर्शन पनि हो । तर, पुर्ख्यौली जायजेथालाई भविष्यमा काम लाग्ने वा नलाग्ने भनेर हेरिनु वा मूल्यमा जोख्नु भने राम्रो होइन ।

विभिन्न पत्रपत्रिका र समचारमा पनि नाम कमाएका लब्धप्रतिष्ठित व्यक्ति, ठूला नेता वा कर्मचारीहरुले आफ्नो बेचेर छोडेको पुर्ख्यौली जायजेथा पुनः खरीद गरी राखिएको देखिन्छ, सुनिन्छ । त्यसलाई संरक्षण गरेको पनि देखिन्छ । तर हालका नयाँ पुस्तामा पुर्ख्यौली सम्पत्ति र धर्मकर्मप्रति मोह देखिँदैन । यो एक प्रकारको विकृति पनि हो । हाम्रो पुर्ख्यौली परम्पराले दाजुभाइ, बन्धुबान्धवबीचको सम्बन्ध र पुर्ख्यौली सम्पत्तिको उपयोग आदिको वैज्ञानिक महत्त्व दर्शाएको हुन्छ ।

‘धर्मो रक्षती रक्षत’ आफूले आफ्नो धर्म पूरा गर्नाले धर्मको रक्षा हुन्छ र तब मात्र त्यो धर्मले आफ्नो पनि रक्षा गर्छ । हाम्रो यो शास्त्रीय सनातनी मान्यता पनि हो । यसपटक म ३०औं वर्षपछि आफ्नो पुर्ख्यौली थलो ओखलढुङ्गा रगनी चप्लेटी पुगेको थिएँ । त्यहाँ बन्धुबान्धवबीच भेटघाट तथा आफ्ना पितृ उद्दाणारर्थ देवकर्म कार्य सम्पन्न गरेँ । जन्म घर जीर्ण भई ढलेको भएता पनि सोही स्थलमा अस्थायी व्यवस्थापन गरी कार्य सम्पन्न गर्नुपरेको थियो । नयाँ पुस्ता छोरालाई पनि पुर्ख्यौली थलो र कर्ममा सक्रिय सहभागी गराई पुर्खाप्रति र पुर्ख्यौली महत्त्व बुझाउन पुस्तान्तरणको आफ्नो कर्तव्य समेत पूरा गर्ने प्रयास गरेँ ।

पुर्ख्यौली थातथलो मात्र नभएर आफ्नो जन्मभूमि, जन्मस्थल पनि भएको हुनाले त्यहाँ पुगी आफ्ना पिता पुर्खालाई सम्झिने र केही देव कार्य गरी जन्मस्थानप्रतिको आफ्नो सदभाव प्रकट गर्ने काम गरेँ । आफूलाई यो कर्म गरेकोमा खुसी पनि लाग्यो । गाउँघरमा आफ्नै किसिमको रहनसहन र घर व्यवहार हुन्छ, जुन सहरमा बस्ने सुकिलामुकिलालाई मन नपर्न पनि सक्छ । तर, गाउँघरबाट सहर आई बसोवास गर्नेले गाउँघरलाई सम्मान गर्ने र सरकारले पनि गाउँले जीवनशैलीलाई र खेती किसानी कर्मलाई सम्मान र उत्साह दिने काम गरेमा बेरोजगारी घट्ने र आत्मसम्मान बढ्ने थियो। आजकलको ‘स्कुलिङ’ नै पढेलेखेर जागिर खानुपर्छ भन्ने छ । तर, क्षमता नभएकाले पनि कनिकुथी पढ्ने तर व्यवहारिक ज्ञान नभएर घरको न घाटको अवस्थामा पुगेर विदेशिने प्रवृत्ति बढेको देखिन्छ।

पढाइलाई प्रयोगमा ल्याउने सीप, व्यवहारिक ज्ञान र रोजगारी दिन उन्मुख हिसाबले स्कुलिङ गराउन सके देशको अर्थतन्त्र पनि आन्तरिक रूपमै मजबुत हुने थियो । गाउँघरको अइँचोपइँचो, अर्मपर्म, सरसापट आदिजस्ता कार्यले एक आपसमा आत्मियता बढ्ने र व्यवहारिक हुने देखिन्छ। तर, देशको मुहार बदल्छु भनेर नारा दिने राजनीतिक दलहरूको यस्ता गतिविधितिर ध्यान गएको देखिँदैन।

विदेशीको नक्कल गर्ने क्रममा आजभोलि देशकै गहना र परिचयका रूपमा रहेका पुर्ख्यौली पेशा, धर्म, कर्म, रितीरिवाज, विभिन्न संस्कार संस्कृति आदि हराउँदै गएका छन् र यसको महत्त्व पनि घट्दै गएको देखिन्छ । जसले गर्दा दक्ष युवा विदेशिने र माटोप्रतिको माया हराउने प्रवृत्ति बढेको देखिन्छ। फलस्वरुप कालान्तरमा देशको आफ्नो मौलिक पहिचान नै गुम्ने खतरा हुन्छ ।