काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
नास्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरुले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताए । उनले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गरेका थिए भने नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो ।