काठमाडौँ – निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ७ वर्षपछि पुनः जोडिएका छन् । यी दुईले नयाँ फिल्म ‘अभेद्य’ निर्माणका लागि पुनः सहकार्य गर्न लागेका हुन् ।
अंग्रेजी नयाँ वर्ष अर्थात् २०२४ को सुरुवातमै छायाङ्कन हुने भनिएको अभैद्य फिल्म रोमान्स थ्रिलर जनरामा बन्ने बताइएको छ ।
फिल्मको कलाकार र प्राविधिक टुङ्गो लागि सकेको भए तापनि केही समयपछि मात्रै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक सापकोटा र निर्माता भट्टले झन्डै ७ वर्षअघि ‘मन्दिरा’ नामक फिल्ममा सहकार्य गरेका थिए । फिल्म सन् २०१६ मा रिलिज भएको थियो । सापकोटा निर्देशित पछिल्लो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालमा प्रदर्शनमा आएको थियो ।
निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’, ‘सहारा’, ‘मन्दिरा’ र ‘घन चक्कर’ लगायतका फिल्म निर्माण गरेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ निर्माण गरेका भट्ट ‘अभेद्य’ निर्माणमा उत्कृष्ट बनाउन हर सम्भव प्रयास गर्ने बताए ।