काठमाडौं – कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र बलरहरूको प्रभावशाली प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ । यससँगै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो ।
काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए भने दुसान हेमन्थाले २१ रन जोडे । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक दुई विकेट लिँदा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।
सुदूरपश्चिमको सुरुवात भने कमजोर रह्यो । टोलीले आठ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । त्यसपछि दीपेन्द्रले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रन र थरिन्दु रत्नायकेसँग छैटौँ विकेटका लागि थप ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए । आरिफले १६ रन बनाउँदा थरिन्दु २६ रनमा अविजित रहे । काठमाडौंका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।
जितसँगै सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ । यता लगातार चार जितपछि पहिलो हार बेहोरेको काठमाडौं ६ खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ । काठमाडौंले लिग चरणको अन्तिम खेलमा आइतबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।


























