काठमाडौँ– दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि दोलखा सदरमुकाम चरिकोटमा हुने बृहत दोलखा महोत्सवको तयारी पुरा भएको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोलखा उद्योग वाणिज्य संघले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । दोलखा महोत्सवको दिव्यदृष्टी, आर्थिक क्रान्तिको नयाँ सृष्टि भन्ने नाराका साथ संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने वृहत् दोलखा महोत्सव हुन लागेको हो ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवको उद्घाटन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जानकारी दिए । उनले महोत्सवमा १५० वटा स्टल राखिने र त्यहाँ स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्द्धन गरिने बताए ।

स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिने पनि उनले जनाए । त्यस्तै अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकको स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने उनले जानकारी दिए ।

महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा कलाकारहरुको साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन हुने जनाइएको छ ।