काठमाडौं – हुसेन तलतको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।
यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेलमा हार बेहोरेको थियो ।
यता, चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । लिग चरणका सात खेलबाट सात अंक जोडेको चितवन चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो ।
चितवनका लागि एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित २८ रन बनाए । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ओपनर कमिल मिश्राले २५ तथा देव खनालले १४ रन जोडे ।
कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे पनि त्यसपछि चितवनको ब्याटिङ सम्हालिन सकेन । कप्तान सिकन्दर राजा दुई, विवेक यादव ६ र डान मोस्ली आठ रनमा आउट भए ।
कुशल मल्लले १८ तथा सलाउद्दिन खानले सात रन बनाए । अशोक धामी ११ रनमा आउट हुँदा कमल सिंह ऐरी र रिजन ढकालले समान एक रन मात्रै जोड्न सके ।
कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मार्क वाट र पवन सर्राफले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
कर्णालीका लागि हुसेन तलतले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडे ।
त्यस्तै, पवन सर्राफले १५ तथा गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै १८ रन बनाए । चसिन शर्मा खाता नखोली आउट हुँदा दीपक डुम्रेले सात, कप्तान डेभिड मिलरले पाँच, सोमपाल कामीले चार र मार्क वाटले छ रन बनाए ।
चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले दुई–दुई विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक–एक विकेट लिए ।
जितसँगै कर्णालीले लिग चरणको अन्तिम खेलमा सान्त्वना जित निकालेको छ भने चितवनले अब एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।


























