काठमाडौँ । उपेन्द्र बराल सन् २०१२ मा पीएचडी गर्न चीनमा आए। बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेस (क्यास) बाट उनले सन् २०१५ मा ‘चुरे र यसको उत्पत्ति’ विषयमा पीएचडी गरे। उनको अनुसन्धानको क्षेत्र नेपालको चुरे क्षेत्र थियो।


ADVERTISEMENT


अहिले उनी क्यासकै प्रेसिडेन्ट इन्टरनेसनल फेलोसिप इनिसिएटिभ (पिफी) अन्तर्गत पोस्टडक्टरल अनुसन्धान गर्दै छन्, जसको विषय पूर्वी हिमालय भूभागमा इन्डियन र एसियन प्लेटको सम्मिश्रण छ। क्यास र भारतको आसामस्थित डिब्रुगढ विश्वविद्यालयको सहकार्यमा चुरे क्षेत्रमा अनुसन्धान गरिरहेका छन् उनी। उनले विश्वका प्रख्यात वैज्ञानिक जर्नलहरूमा आफ्नो अनुसन्धानका १० भन्दा बढी लेखहरू प्रकाशित गरिसकेका छन्। आगामी असारमा पोस्टडक सक्ने युवा वैज्ञानिक बराल नेपालमै केही गर्ने सोचमा छन्। उनको क्षमता र ज्ञानअनुसारको काम विश्वविद्यालय र नास्टले अवसर दिनुपर्ने धारणा राख्छन्। बराल भन्छन्, ‘मैले पढेको देशकै लागि हो, केही अवसर पाएमा देशका लागि योगदान गर्ने विचारमा छु।’


ADVERTISEMENT

# # #


बरालजस्तै दर्जनौं नेपाली चिनियाँ विश्वविद्यालयमा पोस्टडक गर्दै छन्। पछिल्लो समय नेपाली वैज्ञानिक उत्पादन गर्ने राष्ट्रका रूपमा चीन चिनिन थालेको छ। पहिलेपहिले पीएचडी गर्नका लागि युरोप र अमेरिका ताक्ने नेपाली अब चीनतिर आँखा गाड्न थालेका छन्। पश्चिमा मुलुकबाट पीएचडी गरेकाहरू पनि पोस्टडकका लागि चीन रुचाउन थालेका छन्। यसो हुनुको कारण चीनले पोस्टडक गर्ने विदेशी वैज्ञानिकका लागि आकर्षक फेलोसिप एउटा कारण हो भने टिबेटन प्लेटोको क्षेत्रमा हुने खोज अनुसन्धानमा चीनले व्यापक लगानी गरिहेको छ। टिबेटन प्लेटोको संरचनाभित्र नेपालको हिमाली क्षेत्र पनि पर्ने र यो क्षेत्रको भूबनोट, जलवायु परिवर्तन, जैविक विविधता, भूसंरक्षण, वातावरणलगायतका कैयौँ विषयमा नेपालीको अध्ययन अनुसन्धान प्रभावकारी र सहज हुने गर्छ। चाइनिज एकेडेमी अफ साइन्सेस क्यास ले प्रेसिडेन्ट इन्टरनेसनल फेलोसिप इनिसिएटिभ पिफी अन्तर्गत विभिन्न तीन श्रेणीका विदेशी विशेषज्ञहरूलाई अनुसन्धानमा लिने गरेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। सबैभन्दा उच्च श्रेणीमा विशिष्ट विद्वत्वर्गलाई राखेको छ। यसका लागि व्यक्ति अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त हुनुपर्नेछ। यस्ता व्यक्तिले पोस्टडक गरिरहेकाहरूलाई अनुसन्धानमा लगाउने तथा क्यासका शाखामा गएर लेक्चर दिनुपर्छ। यो तहका व्यक्तिले साताको ५० हजार चिनियाँ युआन (लगभग ८ लाख रुपैयाँ) पाउने गर्छन्। विशिष्ट व्यक्तिलाई क्यासले एकदेखि ३ महिनाका लागि लिने गर्छ।

दोस्रो उच्च श्रेणीमा भिजिटिङ फेलो अर्थात् अतिथि विद्वत् भनिएको छ। यस तहका लागि सम्बन्धित विषयमा प्रख्यात विश्वविद्यालयमा प्राध्यापक भइसकेको व्यक्तिलाई मासिक ४० हजार युआन ६ लाख रुपैयाँ सहप्राध्यापकका लागि ३० हजार युआन (साढे चार लाख रुपैयाँ) र उपप्राध्यापकका लागि २० हजार युआन (तीन लाख रुपैयाँ) दिएर २ देखि ९ महिनाका लागि आबद्ध गराउँछ।

तेस्रो उच्च श्रेणीमा पोस्टडक पर्छन्। यसका लागि ख्यातिप्राप्त विश्वविद्यालयबाट विज्ञान विषयमा पीएचडी गरेको अथवा प्राविधिक वैज्ञानिक भएको ४० वर्षभन्दा कम उमेरको व्यक्ति हुनुपर्नेछ। यसका लागि वार्षिक २ लाख ५० हजार युआन (लगभग ४० लाख रुपैयाँ) दिएर बढीमा दुई वर्षका लागि आबद्ध गराइन्छ। उल्लिखित अवसर क्यासको पिफी फेलोसिपको पोस्टडक हो। यसबाहेक चीनका अन्य विश्वविद्यालय र सम्बन्धित विषयका प्रोफेसरले पनि पोस्टडक गराउँछन्।पोस्टडकमा काम लगाउँदा विश्वविद्यालयलाई पनि फाइदा हुने गर्छ। थोरै पारिश्रमिकमा उच्च गुणस्तरको व्यक्तिलाई विश्वविद्यालयले खोज तथा अनुसन्धानमा लगाउन पाउँछ। ती व्यक्तिहरूले गरेको अनुसन्धानबाट प्राप्त आविष्कार विश्वविद्यालयको सम्पत्ति हो। विश्वका प्रख्यात विश्वविद्यालयहरूबीचमा विभिन्न देश र क्षेत्रबाट खोज अनुसन्धानकर्ता वैज्ञानिक भर्ना गर्ने प्रतिस्पर्धा नै चल्ने गर्छ।

क्यास चीनमा प्रख्यात प्राविधिक र वैज्ञानिक उत्पादन गर्ने नामूद संस्था हो। यसमा प्रोफेसर हुनका लागि विश्वका ख्यातिप्राप्त व्यक्तिहरूले आवेदन दिने गर्छन्। यस्तो महत्त्वपूर्ण प्राज्ञिक थलोमा दर्जनौं नेपाली विद्यार्थीले खोज र अनुसन्धान गर्दै वैज्ञानिक बन्न पाउनु नेपालका लागि गौरवको विषय हो।

क्यासमा सबैभन्दा पहिले पोस्टडक नेपाली वैज्ञानिक डा।विनोद दवाडीले ९वनस्पतिशास्त्र० गरेका हुन्। उनले सन् २०१४ देखि २०१६ सम्म पोस्टडक गरेका थिए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्। त्यसपछि डा।मदन सिग्देल (भूगर्भशास्त्र) र डा।डिल्लीराम थापा (भूमौसमशास्त्र) ले पनि क्यासबाट पोस्टडक गरिसकेका छन्। सिग्देल त्रिविका उपप्रध्यापक हुन्। डा।लेखेन्द्र त्रिपाठी (वातावरणशास्त्र) ले यही माघमा पोस्टडक सक्दै छन् भने डा. उपेन्द्र बराल (भूगर्भशास्त्र) ले पनि आगामी असारमा पोस्टडक सक्दै छन्। डा।दीपा अधिकारी, डा. अजयकुमार झा र डा. गजेन्द्र शर्माले पनि चीनको हैलुङचाङ प्रान्तको हार्पिनबाट पोस्टडक गरिसकेका छन्।

यसैगरी डा. भागवत रिमाल (भूगोलशास्त्र), डा।ज्योति भण्डारी (भूगोलशास्त्र), डा।प्रकृति शर्मा (सूक्ष्मशास्त्र), डा. जनक खतिवडा (जीवशास्त्र), डा.भूपति न्यौपाने (भूगर्भशास्त्र), डा. दीपेश रूपाखेती (वातावरणशास्त्र), डा.शालिकराम सिग्देल (वनस्पतिशास्त्र), डा।वसन्त पौडेल (भूगोलशास्त्र) र डा. बाबुराम तिवारी (अन्तरिक्षशास्त्र) मा पोस्टडक गर्दै छन्। रिमालले पोल्यान्डबाट र तिवारीले ब्राजिलबाट पीएचडी गरेका हुन् भने बाँकी सबैले चीनको क्यासबाटै पीएचडी गरेका हुन्। क्यासबाहेक पेकिङ विश्वविद्यालयबाट डा।नवल खड्काले पोस्टडक गर्दै छन्।

चीनको पश्चिममा पर्ने कान्सु प्रान्तको लान्चौमा यही जनवरीदेखि सूक्ष्मशास्त्रमा पोस्टडक सुरु गरेकी प्रकृति शर्मा आफूले पढेको विषयको खोज अनुसन्धान गर्ने प्रयोगशाला नेपालमा भर्खरै स्थापना थालिएको बताउँछिन्। केही प्रयोगशाला निजी क्षेत्रबाट सुरु भए पनि नास्ट र विश्वविद्यालयमा उनका विषयले बृहत् रूपमा प्रवेश पाएका छैनन्। पीएचडी सकेर तुरुन्तै नेपाल फर्कनुभन्दा चीनमै पोस्टडक गर्दा आफ्नो क्षमता वृद्धि पनि हुने र बेरोजगार पनि बस्नु नपर्ने उनको भनाइ छ। क्यासको पिफीअन्तर्गत भूगोलशास्त्रको रिमोट सेन्सरमा अनुसन्धान गरिरहेका डा। भागवत रिमाल आफ्नो विषयको नेपालमा प्रशस्त उपयोग भइरहेको र आफूले थप ज्ञानका लागि चीनमा आएर अनुसन्धान गरिरहेको बताउँछन्।

लान्चौमै पोस्टडक सकेका लेखेन्द्र त्रिपाठी त्यहीँको विश्वविद्यालयमा उपप्राध्यापक पदमा बढोत्तरी भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले विदेशमा विशेषज्ञ ज्ञान हासिल गरेका वैज्ञानिकलाई नेपाल फर्काउने अभियान ‘फर्क वैज्ञानिक’ सुरु गरेको छ। सोही अभियानअन्तर्गत खुलेको वैज्ञानिक पदमा त्रिपाठीले पनि आवेदन दिएका थिए। उनलाई नास्टले प्रारम्भिक छनोट पनि गरेको थियो। चिनियाँ विश्वविद्यालयले उपप्राध्यापकमा लिएपछि भने उनी नेपाल फर्कन चाहेनन्। त्रिपाठी भन्छन्, ‘नेपाल बस्दा परिवार चीनतिर हुने हुनाले परिवारसँगै बस्ने इच्छामा विश्वविद्यालयले अवसर दिएपछि कमसेकम दुई वर्षयतै बस्ने निर्णय गरेँ।’ प्रकृति शर्मा र लेकेन्द्र त्रिपाठी दम्पती हुन्।