काठमाडौँ – १२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको छ ।
लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको हो । भक्तपुर नगरपालिका वडा नम्बर–१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु (भाज्या पोखरी) को पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ उद्घाटन गरे । उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको हो । त्यस्तै भाज्या पुखुको बीचमा जलेश्वरनाथ मन्दिर समेत पुनर्निमाण गरेर उद्घाटन गरिएको छ ।
भग्नावशेषको रुपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहेपनि भक्तपुर नगरपालिकाले पुरात्वविदहरुको सहयोगमा अध्ययन गर्दा पोखरीकोबीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको थियो । पोखरी र मन्दिर उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेले पुरातत्व विभाग लगायत सरोकारवाला निकायहरुले प्राचिन स्थानको पहिचान गर्दै यसको संरक्षण गर्नुपर्ने बताए ।
उनले नयाँ पुस्तालाई प्राचिक कुराहरुबारे जानकारी गराउन पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने धारणा राखे । त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सबैको सहयोगमा भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको बताए ।
कार्यक्रममा पुननिर्माणका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।