काठमाडौँ – सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिए । त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत विभिन्न समिति गठन गरेको छ । जसअनुसार राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्ने, आर्थिक पूर्वाधार समितिको नेतृत्व उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री, विधेयक समितिको नेतृत्व उपप्रधान एवं गृहमन्त्री, प्रशासन समितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीले नेतृत्व गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै प्रवक्ता शर्माले नयाँ सत्तागठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाएको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए ।