काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । संगठित रुपमा विद्युत चोरी भइरहेका क्षेत्रमा ब्ल्याकआउट गर्न लागिएको प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउँछन् । साथै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैब, बाँडेगाउँ, लुभु जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् ।

यसैगरी, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युत चोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले जानकारी दिएका छन् ।

ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युतको प्रयोग गरिरहेका छन् ।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,’ घिसिङले भने ‘त्यसपछि जस्तो जुकै ठूलो दबाव आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’

चोरी गरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख विरेन्द्र सिंह बताउँछन् ।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ’, उनले भने, ‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’

प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक बत्ती मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापक रुपमा भइरहेको छ ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग छलफल गरिरहेका छन् ।

‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ,’ घिसिङले भने, ‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्यो ।’

प्राधिकरणले उपभोक्तालाई समेत विद्युत चोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिँदै पोष्टर टाँस्ने, माईकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिक रुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने घिसिङले जानकारी दिए ।

असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्र प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।