काठमाडौं – नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने व्यावसायिक तथा व्यक्तिगत करदाताको संख्या ८० लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार करको दायरा विस्तार हुँदै जाँदा प्यान लिने करदाताको संख्या उल्लेख्य रूपमा बढेको हो ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभागका उपमहानिर्देशक जनकराज शर्माले संस्थागत तथा व्यक्तिगत गरी करदाताको संख्या ८० लाख पार भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी कुल राजस्व संकलनमा आन्तरिक राजस्व विभागको योगदान करिब ४५ प्रतिशत रहेको छ ।


ADVERTISEMENT

#


विभागले चालु आर्थिक वर्षमा ७ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ संकलन गरिसकेको जनाएको छ । यो अवधिको लक्ष्यको ९० प्रतिशत तथा गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ३ प्रतिशत बढी हो ।

कर प्रशासनलाई प्रविधिमैत्री बनाउने क्रममा ९५ प्रतिशतभन्दा बढी सक्रिय करदाताले अनलाइनबाटै कर विवरण दाखिला गरिरहेको विभागले जनाएको छ । करदातालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ ट्याक्सपेयर पोर्टलसमेत सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT

#
#


त्यस्तै, कर प्रणाली सुधारका लागि २८ बुँदे कार्ययोजना कार्यान्वयनमा ल्याइएको र वार्षिक १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानलाई केन्द्रीय राजस्व सूचना प्रणालीमा आबद्ध गरिएको विभागले जनाएको छ ।

करदाता शिक्षा र सचेतना विस्तारलाई प्राथमिकतामा राख्दै स्थानीय भाषामा रेडियो तथा डिजिटल माध्यमबाट कार्यक्रम सञ्चालन गर्ने योजना पनि विभागले अघि सारेको छ ।

‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित सुरु भएको देशव्यापी कर सप्ताह मंसिर ७ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइनेछ ।