काठमाडौं – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गरेका हुन् ।
यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् । शाह यसअघि २०७७, २०७९, २०८० र २०८२ सालमा पनि व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेबापत सम्मानित भएका थिए ।
त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सूर्य नेपालसहित विभिन्न क्षेत्रका अन्य १९ निकायलाई पनि सरकारले सम्मान गरेको छ ।
यसैगरी, प्रतिकूल परिस्थितिका बाबजुद निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरिएको छ ।
सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । कर दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने करदातालाई सम्मान गर्ने परम्परा छ ।


























