काठमाडौँ– साझाको ‘सेमी–लो फ्लोर’ बस आइपुगेको छ। काठमाडौं महानगरको सहयोग र अशोकले ल्याण्डको सहकार्यमा साझाले यो बस ल्याएको हो।


ADVERTISEMENT


प्रविधिक चेकजाँच, दर्ता प्रकृया र रुट परमिट पछि बस संचालनमा आउने साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।


ADVERTISEMENT

# # #


‘यो बस मुख्यतः अपाङ्गमैत्री छ। ‘अपाङ्गहरुले प्रायोग गर्न पाउन भन्ने उद्देश्य नै यो बस ल्याइएको हो, हस्पिटल पर्ने रुटहरुमा यसलाई संचालन गर्ने सोचमा छौँ’ पाण्डेले भने। लगनखेलबाट त्रिपुरेश्वर, टिचिङ हुँदै बासबारीसम्म चलाउन उपयुक्त देखिएको उनले बताए। ‘सो रुटमा त्यति धेरै खाल्डाखुल्डी नभएकोले चलाउन केही सहज रहेको हाम्रो ठम्याइ छ’ उनले भने।

अरु गाडीमा उक्लिनको लागि २–३ स्टेप चढ्नु पर्नेमा यो गाडीमा एक स्टेप मात्र छ। आवश्यकता अनुसार त्यो स्टेपलाई पनि फोल्ड गरी सतह बनाएर ‘ह्विल चियर’ सजिलै छिराउन सकिने साझाले जनाएको छ।

१२ मिटर लम्बाइ रहेको यो गाडी अरु भन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन्। यो अरु भन्दा महङ्गो, ग्राउण्ड क्लियरेन्स लो भएकोले सडक उपयुक्त छ कि छैन भनेर जाँच्न गाह्रो हुने भएकाले धेरै संख्यामा ल्याउन नसकिएको साझा यातायातका संचालक समितिमा सदस्य भुषण तुलाधरले जानकारी दिए।

‘यो गाडीको मूल्य १ करोड भन्दा बढी छ, तर अशोक लेल्याण्डले हामीलाई ३५ लाखमै उपलब्ध गराएको हो’ उनले भने ‘यस्तो गाडी जोरपाटीको रुटमा पनि जरुरत छ तर त्याहाको बाटोको स्थिति हेर्दा अहिले उपयुक्त देखिँदैन’ तुलाधरले भने।

ड्राईभर सहित ४१ सिट क्षमताको यस सेमी लो फ्लोर बसको सिट पनि पहिलेकोे भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ।

यो गाडीको अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो। यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन्।

अन्य साझामा भएका क्यामरा, डिस्प्ले, लगायतका सुविधा यसमा पनि छन्। यो बस गियररहित भएकोले ड्राईभरलाइ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ।

भारतमा यो बसलाई लेल्याण्डको ‘जन बस’ भनेर चिनिने गरेको र लोकप्रिय हुँदै गइरहेको तुलाधरले बताए। यो बसलाई वीरगंज भन्सारबाट ६२ फुटको ट्रेलरमा राखेर नेपाली चालक सेख तबरेजले ल्याएका थिए। १२ मिटरको गाडीलाई झनै ठूलो ट्रेलरमा हालेर यस्तो बाटोबाट ल्याउन निकै चुनौती भएको तबरेजले बताए।

यो गाडी ल्याउन अरु भन्दा करिव ८ घण्टा धेरै समय लागेको उनले जानकारी दिए। त्यस्तै नौबिसेबाट हरिहर भवन स्थित साझाको कार्यालयमा ल्याई पुर्याउन बेलुका ११:४० देखि २ः १५ सम्मको समय लागेको उनले बताए।