मकावानपुर क्षेत्र नं २ को प्रदेशसभा (ख)का सांसद तथा नेपाली कांग्रेसका युवा नेता इन्द्र बानियाँसंग हिमालय पोष्टले गरेको कुराकानी


ADVERTISEMENT


इतिहासमै पहिलो पटक प्रदेश नं ३ मा प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएको छ । तपाईले पनि आफ्नो धारणा राख्नु भएको थियो । कस्तो रह्यो अनुभव ?


ADVERTISEMENT

# # #


हामीले संघियता कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गरेर तपाईले भनेजस्तै इतिहासमै पहिलो पटक प्रदेशसभाको पहिलो बैठक सम्पन्न गरेका छौँ । सातवटै प्रदेशमा सबैभन्दा पहिला ३ नं प्रदेशको राजधानी हेटौँडामा भयो । अब प्रदेश सभामुखको निर्वाचनका लागि माघ २७ मा तोकिएको छ । यस्तै २८ गते उपसभामुखको निर्वाचनको मिति तोकिएको छ । तत्कालको सञ्चालनका लागि कार्यविधि पास गरिएको छ । पहिले व्यवस्थापिका संसदमा रहे पनि यो मेरा लागि नयाँ अनुभव हो । हिजो ६०१ मा बसेर काम गरेको थिएँ । अहिले प्रदेशसभाको ११० मा बसेर काम गर्दैैछु । अनुभव लिँदैछु । सुन्दर, सफा, मानवताको शहर हटौँडा प्रदेश राजधानी भएको छ । सबै हिसाबले यो एक उत्कृष्ट राजधानी भएको छ । यसका लागि सरकारको प्रशंसा गर्नैपर्ने हुन्छ । अन्य अनुभव पनि विस्तारै थपिँदै जानेछ ।

तपाइले प्रदेशसभाको बैठकमा प्रदेशसभाको राजधानी हेरफेर हुँदैन भनेर भन्नु भएको थियो । अहिले सरकारले अस्थायी राजधानी तोकेको हो । यो स्थायी नै हुन्छ भन्ने तथ्य के हो ?

यसमा मिडियोले के लेख्छ थाहा छैन । तर नेपाल सरकारले सात वटा प्रदेशको राजधानी तोकेको छ । त्यहाँ कुनै अस्थायी र स्थायी भन्ने कुरा लेखेको छैन । । यो नलेखेको कुरालाई अस्थायी र स्थायी भनेर प्रचारबाजी गर्ने काम गलत हो । जहाँ तोकिएको छ । अब त्यही नै स्थायी हो । त्यहाँबाट तलमाथि हुँदैन । त्यस कारण अब कसैलाई प्रदेशको राजधानी अन्त सार्ने ठूलै इच्छाशक्ति जाग्यो भने प्रदेशसभामा त्यसको प्रस्ताव दर्ता गर्नुपर्यो । छलफलपछि दुई तिहाईले त्यसलाई परिवर्तन गर्ने कुरामा सहमती जनाएमा मात्रै सार्न सकिन्छ । नत्र भने कसैले चाहँदैमा सार्न सक्दैन । यदि कसैले हेटौँडा चलाउन खोज्यो भने जनकपुर पनि रहँदैन । वीरगञ्ज जान खोज्ला । बुटवल नरहेर दाङ जान खोज्ला । एक प्रदेशको राजधानी चलाउन खोजियो भने यो मुलुकमा संघियता नै रहँदैन । लेखेर राख्नुस् । संघियालाई आत्मसाथ गरेर समृद्धि ल्याउने हो भने अहिले तोकिएको राजधानीलाई नै स्थायी बनाउनुपर्छ ।

अबको पाँचवर्ष कांग्रेस कुन भूमिकाका साथ अगाडि बढ्छ ?

वीपी कोइरालाले देखेको जनप्रतिनिधिले निर्माण गर्ने सपनालाई सुशिल कोइरालाले पूरा गर्नु भयो । यस्तै त्यसको कार्यान्वयनका लागि अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहका निर्वाचन सम्पन्न गर्नु भयो । अव जनमत वाम गठबन्धनलाई आएको छ । सहमती, सहकार्य र एकताको राजनीतिको जिम्मेवारी अहिले वाम गठबन्धनको काँधमा आएको छ । कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गरेको अवस्था छ । जिम्मेवार प्रतिपक्षी कस्तो हुनुपर्छ भनेर पाठ सिकाउनका लागि जनताले कांग्रेसलाई मत दिएका छन् । अब जिम्मेवारीलाई पूरा गछौँ ।

प्रदेश नं तीनमा पनि नेपाली कांग्रेसनै प्रमुख प्रतिपक्षी दल बन्ने देखिएको छ । तपाईलाई प्रमुख प्रतिपक्ष दलको प्रमुख नेताका रुपमा हेर्न थालिएको छ । अब प्रदेश नं ३ का प्रमुख एजेण्डा के हुन्छन् ? त्यसको कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका कस्तो रहन्छ ?

अब जुन प्रमख प्रतिपक्षी दलको प्रमुख नेता पार्टीले छान्ने कुरा हो । ३ नं प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता को रहँदाखेरी दलको प्रतिष्ठा, इज्जत जोगिन्छ भन्ने कुरालाई पार्टीले निर्णय गर्छ । त्यो जिम्मेवारी जसकोमा आउँछ । त्यो हामीे स्वीकार्नु पर्छ । अर्को कुरा ३ नं प्रदेशलाई कांग्रेस र जनताको तर्फबाट कसरी खगाडि बढाउने भन्ने कुरा त हामी गरिहाल्छौँ नै । अरु प्राथमिकता भनेको अहिले काठमाडौँ उपत्यका अहिले मानवीय, वातावरणका हिसाबले आक्रान्त छ । धूलो धुवाँले सडक सञ्जाल अस्तव्यस्त बनेको छ । यो भन्दा अलि टाढा सुन्दर शहरमा अहिले प्रदेश राजधानी गएको छ । यसले काठमाडौँको अस्तव्यस्ततालाई केही मत्थर गर्नेछ । अर्को कुरा नेपाली सेनाले फास्ट ट्रयाक बनाइरहेको छ । जसले नुवाकोट, सिन्धुलीका मानिसलाई पनि हेटौँडा पुग्न धेरै समय लाग्ने छैन । हाम्रो पहिलो प्राथमिकता टाढा बाट आउने माननीय सदस्यहरुलाई पनि हटौँडा नै प्रदेश राजधानीका लागि उपयुक्त र वैज्ञानिक रहेछ भन्ने गराउनतर्फ हामी लाग्ने छौँ । आज मुलुकको राजधानी काठमाडौँमा रुकुम, रोल्पा, जुम्ला, हुम्लादेखिका मानिस आउन हुने अनि माननीय भएर त्यहाँका जनताका कुरा उठाउन मिन्ने अनि १३ वटा जिल्ला जो संगै जोडिएका छन् । तिनको प्रदेश राजधानी टाढा भयो भनेर भन्न मिल्दैन ।

पछिल्लो समयमा सरकारका जतिपनि निर्णयहरु भइराखेका छन् तिनको आलोचना पनि उत्तिकै भइरहेको छ । सरकारले गरेका यी निर्णयमा तपाईको धारणा के हो ?

सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धभत्ता एमालेले सुरुवात गरेको भन्ने चर्चा सबैतिर आइरहेको छ । हामी । हामी होइन भनेर हिँडेका पनि छैनौँ । तर त्यसमा जनतालाई केही राहत महशुस गराएका मात्रै हौँ ।  वर्ष ननाघिकनै ज्यान गुमाउँछन् । तर एउटा कुरा के हो भने हुम्ला, जुम्ला जस्ता दुर्गम जिल्लाका मानिसहरुको  सरदर आयु ५५/५७ मात्रै हो । महिलाहरु ४५/५० वर्षमा नै ज्यान गुमाउँछन् । अहिले अलिकती आयू बढेको मात्रै हो । वृद्धभत्ताको उमेरलाई हेर्नेहो भने त्यहाँको जनतालाई लक्षित गरेर अहिलेको सरकारले उमेर झारेको हो । यो गर्नु आवश्यक पनि थियो । सामाजिक सुरक्षासम्बन्धी यो सरकारले धेरै राम्रा काम गरेको छ । चाहे त्यो डायलासिस गराइरहेको बिरामी होस् वा मुटु रोगीहरुलाई मासिकरुपमा दिने निर्णय । यी लोकप्रियभन्दा पनि जनताको पक्षमा गरिएको काम हुन् ।

अन्त्यमा विकास र समृद्धि नै समग्र मुलुकको एकमात्र एजेण्डा बनेको छ । जनताको प्रतिनिधित्व गर्दै प्रदेशसभामा पुग्नु भएको छ । जनताको समृद्धिको चाहाना अब कसरी पूरा हुन्छ ?

नेपालको प्रगतीका लागि समृद्धि जरुरी हो । तर समृद्धि ल्याउने वा नल्याउने भन्ने कुरा सरकारमा जानेहरु र वाम गठबन्धनको हातमा छ । समृद्धि शब्द विपी कोइरालाले ल्याएको शब्द हो । पछिअन्य नेताहरुले पनि प्रयोग गर्न थाले । खेत जोत्नेको, घर पोत्नेको भन्ने शब्द विपी कोइरालाले १५ सालको निर्वाचनमा जाँदा बोलेको शब्द कम्युनिस्टहरुले बीचमा ल्याएका हुन् । कांग्रेसको लामो समय त कम्युनिस्टलाई लोकतन्त्र सिकाउनै लाग्यो । सक्रिय राजतन्त्र खोज्नेलाई पनि लोकतन्त्र सिकाउनुपर्ने, बुलेटमा विश्वास गर्नेलाई पनि व्यालेटमा विश्वास गर्ने बनाउन नेपाली कांग्रेसले नै भूमिका खेल्यो । त्यस कारण नेपाली कांग्रेसले समृद्धि चाहेर पनि अन्य परिवेशले ल्याउन दिएन । सबैलाई लोकतन्त्रको बाटोमा ल्याउनु नै कांग्रेसको जित भएको छ । अहिले कम्युनिस्टलाई जनमत आएको छ । त्यस कारण कम्युनिस्टले ल्याउने भनेको समृद्धि कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ ।