काठमाडौँ– वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक–फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गतेनेपाल फर्कन सफल भएका थिए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।