काठमाडौँ– बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृत्तिमा चलखेल भएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनीहरुले चिकित्सा शिक्षा आयोगले सिफारिस गरेको केहि विद्यार्थीको नाम हटाएर अरुकै नाम राखेर पठाएको र यसका कारण बंगलादेशले केहि विद्यार्थीको नाम सूचीबाट हटाएको जनाएका छन् ।
बंगलादेश सरकारले नेपाल सरकारलाई सन् २०२४ मा १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको थियो । चिकित्सा शिक्षा आयोगले परीक्षा सञ्चालन गरेर १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि सरकारलाई सिफारिस गरेको थियो ।
चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएका नाममध्ये एमबीबीएसतर्फ ९ जना र बीडीएसतर्फ १ जनामा अरुकै नाम हालेर पठाइएको आशंका सांसदहरुको रहेको छ । सांसद तोसिमा कार्कीले मेरिट लिष्टमा छानिएका विद्यार्थीहरुकै नाम पठाएको अवस्थामा बंगलादेशमा नाम परिवर्तन गर्नेको खोजी गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् । लिष्ट परिवर्तन गर्ने कामको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यसमा भूमिका खेल्नेलाई कारवाही गर्नुपर्ने उनको माग छ ।
त्यस्तै समिति सभापति अम्मर बहादुर थापाले सरकारले सिफारिस गरेका व्यक्तिलाई वंगलादेशले भर्ना दिनुपर्ने र लिष्ट भन्दा बाहिरको व्यक्तिको नाम भए रद्द गर्नुपर्नेमा जोड दिए । यसमा मन्त्रालयले बिशेष चासो दिनुपर्ने उनले बताए ।