दोलखा– नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताएका छन् ।


ADVERTISEMENT


स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पुर्याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताए । उनले भने, “चुनाव नजिकिँदै गर्दा पार्टीमा आएको फुट, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु र आफ्ना उम्मेदवार कम स्थानमा उठाएका कारण चुनावमा नराम्रो पराजय बेहोर्नु परेको हो ।”


ADVERTISEMENT

# # #


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणका लागि दोलखाको सदरमुकाम चरिकोट आउनुभएका ऊर्जामन्त्री थापाले वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म रहेको बताए । थापाले भने, “देश समृद्धिको कडी जलविद्युत् क्षेत्र रहेकाले माथिल्लो तामाकोशीको निरीक्षण गर्न आएको हुँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।