काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।


ADVERTISEMENT


नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई आज पुनः म्याद थपका लागि अदालत लैजान लागिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि बुधवार जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । म्याद बिहिवार नै सकिएपनि हिजो सार्वजनिक बिदा परेकाले  प्रहरीले आज अदालत लैजान लागेको हो ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

 सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाट पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई प्रहरीले मंगलबार साँझ नै धनुषा पठाएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

पक्राउ परेपछि अध्यक्ष सिरोहियाले राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताएका थिए । उनले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप शसक्त रुपमा प्रस्तुत हुने धारणा राखेका थिए ।

आफुलाई नागरिकताको विषयमा सोधपुछ नै नगरी पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चुनौती दिएका थिए ।