काठमाडौँ– नेपाली कांग्रेसले गृहमन्त्रीको नामसहित सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकमा कांग्रेस नेताहरुले सहकारी प्रकरणमा गृहमन्त्रीका नामका साथै समस्याग्रस्त घोषणा गरेका सहकारीको बारेमा आवश्यक अध्ययन गर्नुपर्ने अडान राखेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा सत्तापक्षले गृहमन्त्रीको नाम उल्लेख नगरि सहकारीको नाम राखेर सहमति जुटाउन सकिने प्रस्ताव गरेको थियो । कांग्रेस र सत्तापक्षले राखेको आ–आफ्ना प्रस्तावका बारेमा पार्टीभित्र छलफल गर्ने कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । उनले गोर्खा मिडियामा हुँदा गृहमन्त्रीले रकम अपचलन गरेको विषयमा छानबिन नहुने गरी सहमति हुन नसक्ने स्पष्ट पारे ।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले गृहमन्त्रीको नाम नराख्ने तर जोडिएको सहकारीको नाम राखेर सहमति जुटाउने प्रयास जारी रहेको बताए । उनले कांग्रेसले केहि लचकता देखाएकाले सहमति हुने विश्वास व्यक्त गरे ।

बैठकमा रास्वपाका सदस्यहरुले कांग्रेस र सत्तापक्षको प्रस्तावमाथि पार्टीमा छलफल गर्ने जनाएको छ । संसदीय छानविन समितिका बिषयमा दलहरुबीच सहमति नहुदा संसद बैठक लगातार प्रभावित हुदै आएको छ ।