काठमाडौं-प्रदेश २ मा सरकार गठनको विषयमा राष्ट्रिय जनता पार्टी नेपालले सङ्घीय समाजवादी फोरम नेपालसमक्ष तीनबुँदे प्रस्ताव राखेको छ । राजपा नेपाल र फोरम नेपालले अढाई अढाई वर्ष गरी चक्रीय प्रणालीमा सरकार नेतृत्व लिने, मुख्यमन्त्रीसहित दुई मन्त्री फोरम नेपाललाई दिने र राजपा नेपालले सभामुख र चारवटा मन्त्रालय लिने सो दलले प्रस्ताव गरेको हो ।


ADVERTISEMENT


यद्यपि राजपा नेपालले राखेको यो प्रस्तावप्रति फोरम नेपाल सकारात्मक देखिएको छैन । राजपा नेपालले प्रस्ताव राख्नेबित्तिकै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्कीर्ण सोच र दलीय स्वार्थमा रहेर सरकार गठन गर्यो भने प्रदेशका लागि काम गर्न नसकिने भन्दै दलीय स्वार्थभन्दा उठेर आआफ्नो दलमा पुनः एकपटक छलफल गर्न राजपा नेपालका नेताहरूलाई आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


यति कुरा भनेर अध्यक्ष यादव आफूलाई काठमाडौँमा काम छ, दुई दिनपछि पुनः बैठक बसेर टुङ्गो लगाउने भनी बैठकबाट हिँडेका थिए । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफूहरूले प्रस्ताव राखेपछि उपेन्द्र यादवले केही जवाफ नदिई पार्टीमा छलफल गरेर दुई दिनपछि बैठक बस्ने भनेर काठमाडौँ फर्किएको बताएका छन् ।

सरकार गठनको विषयमा राजपा नेपाल र फोरम नेपालबीच मङ्गलबार जनकपुरमा औपचारिक बैठक बसेको थियो । राजपा अध्यक्षमण्डलका सदस्य यादवले आफूहरूले तीनवटा प्रस्ताव प्रस्तुत गरेको र यसमा फोरम नेपालको जवाफ पर्खेको बताए । जनकपुरबाट काठमाडौं फर्किएका अध्यक्षमण्डलका सदस्य यादवले बुधबार
कुरा गर्दै भने, “हामीले दिएको प्रस्ताव फोरम नेपालले स्वीकार गर्नुप¥यो या फोरम नेपालले हामीसँग केही
प्रस्ताव गर्नुप¥यो । ”

प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालले संयुक्त सरकार बनाउने सैद्धान्तिक सहमति बनिसकेको छ । फोरम नेपालले प्रदेशसभामा सबभन्दा बढी सिट ल्याएका कारण सरकारको नेतृत्व गर्ने भएको छ । फोरम नेपालको २९ र राजपा नेपालको २५ सिट छ । दुवै दलको सिट मिलाएर बहुमत सिट पुग्दो छ । फोरम नेपालका उपाध्यक्ष रेणु यादवले प्रदेशको सरकार पहिलोपटक बनिरहेको हुनाले काम गर्नका लागि स्थिर र बलियो सरकार
बनाउनुपर्ने बताएका छन् ।

सरकार पटकपटक फेर्नु हुँदैन, पाँच वर्षका लागि स्थिर र बलियो सरकार बनाउने उनले बताएका छन् । बैठकमा दुवै तर्फबाट आआफ्नो कुरा राख्ने काम भएको बताउँदै उनले आआफ्नो दलमा छलफल गरी एकदुई दिनमा यस विषयको टुङ्गो लाग्ने बताएका छन् ।

राजपा नेपाल र फोरम नेपालबीच कुरा नमिले वाम गठबन्धनसँग मिलेर सरकार बनाउने विषयमा पनि अन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ । राजपा नेपाल र फोरम नेपालका नेताहरूले आन्तरिक रूपमा र अलगअलग वाम गठबन्धनसँग छलफल गरिरहेको भनिए पनि त्यसको पुष्टि भएको छैन । “राजपा र फोरम नेपालबीच कुरा मिलेन भने वाम गठबन्धनसँग मिलेर सरकार बनाउन सकिन्छ”, स्रोतले भन्यो ।

तर यो कुरा मान्न तयार हुनुहुन्न, राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव । “राजपा र फोरम नेपालबाहेक अरूसँग मिलेर सरकार बनाउने कुनै सम्भावना छैन । त्यसको बारेमा अहिले कसैले सोचेको पनि छैन, हामीलाई विश्वास छ कि राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार बन्छ । ” उनले बताए ।