ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) बसन्ता घिमिरेलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत घिमिरेलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले २०८३ साल कात्तिक महिनाको ‘Police of the Month’ घोषणा गर्दै सम्मान गरेका हुन् ।


ADVERTISEMENT

#


लैङ्गिक हिंसाबाट प्रभावित पीडितलाई न्यायको पहुँचमा पुर्‍याउन तथा उनीहरूलाई आवश्यक संरक्षण र सहयोग उपलब्ध गराउन सक्रिय भूमिका निर्वाह गरेकाले घिमिरेलाई उत्कृष्ट प्रहरी छनोट गरिएको परिसरले जनाएको छ ।

घिमिरेले हिंसापीडितलाई निःशुल्क कानुनी परामर्श, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्दै आएकी छन् । महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरणमा समेत उनले उल्लेखनीय योगदान पुर्‍याएकी छन् ।


ADVERTISEMENT

#
#


कर्तव्यनिष्ठा, जिम्मेवारीबोध र सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गर्दै प्रहरी संगठनको छवि र गरिमा अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।