काठमाडौँ– प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएका छन् ।
गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार डीईआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
आगामी असार १९ गते उमेशराज जोशी अवकाश भएपछि मात्र एआईजी पद रिक्त हुन्छ । तर पदरिक्त हुनु ९ दिनअघि नै बढुवा समितिले सोमबार उनलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
एआईजीमा सिफारिस भएका पोखरेल असार २१ गते अवकाश हुनेछन् । ३० बर्षे सेवावधिले उनी अवकाश हुन लागेका हुन् । उमेशराज जोशी अवकाश भएकै दिन पोखरेलको बढुवा सिफारिस गरी फुली लगाउने र २ दिनपछि उनी बिदा हुनेछन् ।
एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् । जसकारण पोखरेल एआईजीमा बढुवा नभएको खण्डमा पनि २० असारको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने थिए ।
तर १० दिन अघि नै बढुवा सिफारिस गर्दै विशिष्ट श्रेणीको एआईजी बनाउन लागिएको हो । पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
यसअघि २०७९ जेठ मा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो । ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।



























































