काठमाडौँ – आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको भएको उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा आर्थिक विधेयक, २०८१ माथि सामान्य छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए ।
त्यस्तै उनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने सरकारको योजना रहेको जानकारी दिए । अर्थमन्त्री पुनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, राजस्वको दायरा विस्तार गर्ने तथा व्यवस्थित कर प्रणाली लागू गर्ने विधेयक ल्याएको जानकारी दिए ।
उनले कर हेरेफेरमा विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने कुरा सही नभएको धारणा राखे ।



























































