काठमाडौं – अभिनेत्री गरिमा शर्माले आफूले काम गरेबापत पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् ।

मंगलबार उनले कलाकारको श्रम र सिर्जनाको उचित मूल्यांकन नहुने प्रवृत्तिप्रति प्रश्न उठाउँदै चेतावनीपूर्ण पोस्ट सार्वजनिक गरेकी थिइन् । आफ्नो मेहनतको पारिश्रमिक समयमै नपाएको र भुक्तानी गर्नुपर्ने व्यक्ति नै सम्पर्कविहीन भएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । उनले कलाकारको प्रतिभा, समय, सीप र सिर्जनात्मक क्षमताको उपयोग गर्ने तर उचित पारिश्रमिक तथा अधिकार नदिने प्रवृत्तिलाई कलाकारमाथिको शोषणको संज्ञा दिएकी थिइन् । यद्यपि, उनले आफ्नो पोस्टमा सम्बन्धित व्यक्तिको नाम भने खुलाएकी थिइनन् ।


ADVERTISEMENT

#


यसैबीच, गरिमाले अर्को पोस्ट गर्दै आफ्नो गुनासोपछि केही व्यक्ति सम्पर्कमा आएको जानकारी दिएकी छन् । सामाजिक सञ्जालको प्रभावप्रति आभार व्यक्त गर्दै उनले लेखेकी छन्, ‘तपाईंहरूको प्रतिक्रियाका लागि धन्यवाद, अहिले धेरै जना सम्पर्कमा आउनुभएको छ । यो नै यो सामाजिक सञ्जालको शक्ति हो।’

गरिमाको यो घटनाले नेपाली चलचित्र क्षेत्रमा कलाकारले समयमै पारिश्रमिक नपाउने र भुक्तानीका लागि बारम्बार ताकेता गर्नुपर्ने समस्यालाई पुनः चर्चामा ल्याएको छ । चलचित्र निर्माण तथा प्रचारप्रसारमा कलाकारको लोकप्रियता र मेहनतको उपयोग गरिए पनि पारिश्रमिक भुक्तानीमा हुने ढिलाइले समग्र चलचित्र क्षेत्रको व्यावसायिक विश्वसनीयतामाथि प्रश्न उठाउने देखिन्छ ।


ADVERTISEMENT

#
#