काठमाडौँ – नेपाली कांग्रेसले संसदमा विचाराधीन लगानी सहजीकरण सम्बन्धी विधेयकका विषयमा सरोकारवालासंग परामर्श गरेको छ ।
बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा कांग्रेसले उक्त विधेयकमा सन्दर्भमा कानून व्यवसायीका साथै उद्योगीहरुसंग परामर्श गरेको हो । परामर्शका आधारमा विधेयकमाथि कांग्रेसका सांसदहरुले आवश्यक संशोधन दर्ता गर्ने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
उनले स्वदेशीका व्यवसायीका साथै बाह्य लगानीकर्तालाई सहज रुपमा लगानी गर्नका लागि आफु अर्थमन्त्री हुँदा नै लगानी सहजीकरण सम्बन्धी विधेयक अघि बढाइएको बताए । अहिले सदनमा प्रस्तुत भएको विधेयकलाई लगानीको वातावरण बनाउनका साथै दूरुपयोग हुन नदिने गरि अघि बढाउनका लागि सांसदहरु परामर्श गरिएको उनको भनाइ छ ।
यसअघि मंगलबार बसेको प्रतिनिधि सभा बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो भने उक्त विधेयकमाथि ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने व्यवस्था छ । सरकारले लगानी सम्मेलनअघि ल्याएको अध्यादेश प्रतिस्थापन गर्न अहिले लगानी सहजीकरण सम्बन्धी विधेयक ल्याएको हो ।



























































