काठमाडौं-नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छन् । आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताए ।


ADVERTISEMENT


“२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ”, उनले भने- “अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ ।”


ADVERTISEMENT

# # #


उनले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताएका छन् । उनले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राखेका छन् ।

नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए । “कस्तो विचार लिएर पार्टी एकता गर्ने र कस्तो संरचना बनाउने भन्नेमा अहिले छलफल जारी छ” उनले भने- “पार्टी एकतापछि एमाले र माओवादीसँग भावनात्मकरुपमा कसरी जोड्ने भन्ने प्रयासमा रहेका छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताएका छन् । उनले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताए ।

दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उनको भनाइ रहेको थियो । उनले वाम गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा भएकाले चाँडै नै एकतासँगै सरकार गठन गरेर त्यो आशा र भरोसालाई पूरा गर्ने बताएका छन् ।

कार्यक्रममा एमाले क्षेत्रीय संयोजक सूर्यचन्द्र भट्टराई र क्षेत्रीय इञ्चार्ज प्रेमबहादुर साउदले वाम गठबन्धनबाट जनताले मुलुक निर्माणको लागि ठूलो आशा राखेको हुनाले त्यो पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय गरिमा शाह, प्रकाश शाह, एमाले जिल्ला कमिटी सदस्य दीर्घ सोडारी, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलको सहभागिता रहेको थियो ।