काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय खेलाडीका सम्झौतामा समेटिएका छन् । बिहीबार राती बसेको क्यानको बोर्ड बैठकले सन्दीपलाई केन्द्रीय सम्झौताको ‘ग्रेड ए’ अनुबन्ध गर्ने निर्णय गरेको हो ।
बलात्कारको मुद्दा लागेपछि क्यानले सन्दीपलाई २०७९ माघदेखि केन्द्रीय सम्झौताबाट हटाएको थियो । त्यसयता सन्दीपले क्यानबाट मासिक रुमा कुनै किसिमको तलब पाएका थिएनन् । तर, उच्च अदालत पाटनबाट सफाई पाएसँगै क्यानले सन्दीपलाई केन्द्रीय सम्झौतामा फर्काएको हो ।
जस अनुसार ‘ग्रेड ए’मा रहेका सन्दीपले क्यानबाट मासिक १ लाख रुपैयाँ तलब पाउने भएका छन् । क्यानले यसअघि ‘ग्रेड ए’मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेललाई राखेको थियो । त्यसमा सन्दीप थपिएका हुन् ।
यस्तै क्यानले ग्रेड ‘बी’मा ६ जना खेलाडी राखेको छ । जसको मासिक तलब ७० हजार रुपैयाँ रहेको छ । यस्तै ‘ग्रेड सी’मा रहेका ४ जनाले मासिक ५५ हजार र ग्रेड ‘डी’मा रहेका ७ जना खेलाडीले मासिक ३५ हजार रुपैयाँ पाउँछन् ।



























































