काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते संसदमा विश्वासको मत लिने भएका छन् ।
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने निर्णय गरेका हुन् । शुक्रबार (आज) संघीय संसद् सचिवालयलाई पत्र लेख्दै उनले त्यसको जानकारी गराएका हुन् ।
काँग्रेसले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएको एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने सरकारमा सहभागी आफ्नो ८ मन्त्रीलाई फिर्ता बोलाएको थियो । एमाले र काँग्रेसले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेका थिए ।
सत्ता साझेदार पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, एमालेले साथ छोडेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुने करिब निश्चित भएको छ ।
संविधान संशोधन, राजनीतिक स्थायित्व लगायतका एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गर्दै काँग्रेस-एमाले नयाँ गठबन्धन बनाएका छन् । जसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सरकारको नेतृत्व गर्नेछन् भने २०८४ को निर्वाचन अघि दोस्रो चरणमा काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्नेछन् ।




























































