काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलहरुसंग छलफल गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीति परिस्थितिका सन्दर्भमा नयाँ समिकरणमा सहभागी लगाएत सबै दलहरुसंग छलफल गर्ने बताएका हुन् । उनले समाजवादी मोर्चालाई क्रियाशिल तुल्याउन छलफल गर्ने जिकिर गरे ।
राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको अवस्थामा यसले संघमा मात्रै नभइ प्रदेशमा पनि प्रभाव पार्ने उनले बताए ।
उनले राजनीतिक घटनाक्रममा आफ्नो पार्टीको भूमिकाका विषयमा पनि छलफल गरिने जिकिर गरे । अध्यक्ष नेपालले महाधिवेशनले पार्टीलाई थप बलियो बनाएको भन्दै अवसर नपाएकै कारण निराश हुनुनपर्ने बताए ।
त्यस्तै पार्टीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको विकास र विस्तारलाई रोक्न सक्ने कुनै शक्ति नरहेको जिकिर गरे । कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी विचार हावी भएको र एमालेमा पनि नेतृत्वका कारण निराशा छाएको भन्दै आफ्नो पार्टी देशकै मुख्य कम्युनिष्ट पार्टी हुने उनले दाबी गरे ।
उनले महाधिवेशन सम्पन्न भएसंगै पार्टीको व्यापक रुपान्तरणमा जुट्ने बताए ।



























































