काठमाडौँ – नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा पुगिनसकेको बताए । उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुङ्गो लगाउने बताए ।
प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गरी कांग्रेससहितका दलहरूसँग छलफल हुने बताए।
‘‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली कांग्रेसको बिचमा आलोपालो पहिला एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली कांग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमति भएको छ । सहमति यति भयो । सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्छन् । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बिचमा हामीले छलफल गर्नेछौँ ।,’’ प्रमुख सचेतक बर्तौलाले भने, ‘‘त्यो छलफल प्रारम्भिक रूपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौँ । मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोली नै राजीनामा दिएर एउटा सहज मार्गप्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुङ्गो लगाउँछौँ । अहिले चाहिँ केही छलफल भएको छ ।’’
प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुङ्गिन केही समय लाग्ने बताए ।



























































