काठमाडौं – बिभिन्न माग राख्दै सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंको माइतिघरमा निरन्तर धर्ना दिएका छन् ।
सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगर लगाएत बिभिन्न निकायहरुले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरुले ९ दिनदेखि काठमाडौंको माइतिघरमा निरन्तर धर्ना दिएका हुन् ।
सडकपेटी केन्द्रीय स्वरोजगार मुलक दृष्टिविहीन व्यवसायीहरुको समूहको अगुवाइमा भएको धर्नामा सहभागीहरुले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको गुनासो गरेका छन् ।
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक पूर्ण बहादुर रोकायाले क्षमताका आधारमा रोगजारीको व्यवस्था हुनुपर्ने, दृष्टिविहीन नागरिकहरुले उत्पादन गरेका बस्तुहरुको राज्यले खरिद गर्नुपर्ने माग रहेको बताए । .
राज्यले दिएको अपाङ्ग भत्ताले जीवननिर्वाह गर्न कठिन भएकाले सडक पेटीलाई कार्यस्थल बनाउन नदिने राज्यले नै उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाइ छ ।



























































