काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओलीको क्षमता तारिफयोग्य रहेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा ओलीमाथि कटाक्ष गर्दै उनले एमालेसंगको समीकरणका लागि ओलीले आफूलाई फकाएको बताए । तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउमा आफू एमालेसहितको गठबन्धनमा लगेको उनको भनाई छ ।
‘यसमा हाम्रो एमालेको अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतको यहाँ अरु ककोही छैन’, उनले भने, ‘मलाई राम्रो फकाउनु भयो । वामपन्थीको पो मिल्नुपर्छ कांग्रेससंग, कांग्रेस को हो? धेरै–धेरै..।’
अघि बोल्दै उनले थपे, ‘अब म मान्छे यस्तै । प्रचण्ड यस्तै छ, तपाईहरुले चिन्नुभएकै छ । म त अलिअलि सेन्टिमेन्टल, भावुक । मिठो बोलीले भनेपछि होला त नि भनेर विश्वास गर्ने ।
यसैगरि आफू वामपन्थी नै भएका कारण कम्युनिस्ट एकता गरौं भन्दा आफूले हो भन्ने लागेर एमालेसंगको गठबन्धन अघि बढाएको उनले सुनाए ।



























































