काठमाडौँ – अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य रुपमा मनाउनका लागि मूल समारोह आयोजक समिति गठन गरिएको छ ।
बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलपछि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह आयोजक समिति गठन गरिएको हो । समितिमा राष्ट्रिय युवा परिषदका पदाधिकारी, बिभिन्न युवासम्बन्धी संघसंघका प्रतिनिधि लगाएतलाई समावेश गरिएको छ ।
दिवसका अवसरमा अन्तक्रिया, बृक्षारोपण, रक्तदान लगाएतका कार्यक्रमको आयोजना गर्ने आयोजक समितिले जनाएको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले अन्तर्राष्ट्रिय युवा दिवसलाई जागरणको रुपमा मनाउनुपर्ने धारणा राखे । उनले विदेशमा रहेका लाखौ युवाहरुलाई स्वदेश फर्काउने अवस्था सिर्जना गर्न सके युवा दिवसले सार्थकता पाउने उल्लेख गरे ।
त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अन्तर्राष्ट्रिय युवा दिवसलाई सातै प्रदेशमा, सवै निकायमा आफ्नै मौलिकताका साथ सप्ताहरुपमा मनाउने बताए । दिवससंगै साउन २८ र २९ गते राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । रासस



























































