झापा– झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।


ADVERTISEMENT


पर्यावरण संरक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका उपप्रमुख शङ्कर बस्नेतले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत यस वर्ष ५० हजार र आगामी वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।


ADVERTISEMENT

# # #


उपप्रमुख बस्नेतले यस वर्ष २५ हजार बिरुवा नगरका १० वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार बिरुवा भण्डारण गरेर राखिएको जानकारी दिए । अभियानअन्तर्गत लिच्ची, आँप, कागती, जामुनलगायत बिरुवा रोपिएका छन् । अभियानमा दमक नगरपालिकाका १० वटै वडाका पार्टी कमिटी, टोल समिति सहभागी छन् ।

कोशी प्रदेश वन मन्त्रालय र डिभिजन वन कार्यालय उदयपुरबाट बिरुवा अनुदानमा ल्याएको र केही बिरुवा पार्टीले आफ्नै खर्चमा खरिद गरेर वितरण गरेको जनाइएको छ । डिभिजन वन कार्यालयले यस वर्ष चार लाख ४० हजार बिरुवा वितरण गरिने बताएको छ । कार्यालयका प्रमुख मेघराज राईले झिलझिले, मेचीनगर, सुरुङ्गा, भद्रपुर र हल्दीबारीस्थित नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा धमाधम वितरण भइरहेका बताए।

वन कार्यालयले लिच्ची, आँप, कटहर, गुलमोहर, रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुसुम, कदम, कल्कीलगायत फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको छ । शिवसताक्षी–६ र मेचीनगर–४ ले वडास्तरमा वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । मेचीनगरको एक लाख र शिवसताक्षीको पाँच लाख बिरुवा रोप्ने लक्ष्य छ ।

अभियानअन्तर्गत अमला, तेजपात, मसला, टिक, गुलमोहर, खमारी, मेन्दुला, टाँकीलगायत रुख तथा छाँयादार फलपूmलका बिरुवा रोपिएका छन् । बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भए/नभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएका छन् ।

राष्ट्रिय युवासङ्घले यस वर्ष ३० हजार बिरुवा रोप्ने अभियान सञ्चालन गरेको सङ्घकी स्थायी कमिटी सदस्य रोजिना पाण्डेले बताइन् । हालसम्म २५ हजार बिरुवा रोपिसकेको उनले सुनाइन् । सहिद नेत्र उद्यानमा १६०० सुपारीका बिरुवा, सुखानी सहिद उद्यानमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका उनले जानकारी दिए ।

मेचीनगर–४ को प्रकृति उद्यानमा वृक्षारोपण गर्न सामाजिक संस्थाहरूको लर्को नै लाग्ने गरेको छ । मेचीनगर प्रेस क्लब, वान नेपाल, रोटरी क्लब, जेसिजलगायत संस्था बिरुवा बोकेर वृक्षारोपणका लागि प्रकृति उद्यान आउने गरेका वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए । उनले यस वर्ष उद्यानमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको सुनाए ।