काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराव मौसमका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको देखिएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा अधिकारीले खराव मौसम र बादलभित्र हेलिकप्टर प्रवेश गरेका कारण दुर्घटना भएको देखिएको बताएका हुन् । खराब मौसमका कारण फर्कनका लागि देव्रेतर्फ मोड्नेक्रममा दुर्घटना भएको उनको भनाइ छ ।
उनले खराब मौसम र बादलभित्र छिर्नका लागि कानुनले नै बर्जित गरेको जानकारी दिए । उनले दुर्घटनाको विस्तृत कारण सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनले दिने जिकिर गरे ।
प्राधिकरणको प्रारम्भिक अनुसन्धानमा भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिएको उनले बताए ।
बैठकमा समिति सदस्यहरुले हवाई सुरक्षाका विषयमा पटक पटक छलफल भए पनि समस्या अन्त्य हुन नसकेको बताएका थिए । समिति सदस्य विमलेन्द्र निधिले उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त वा निलम्वन गरेर मात्रै हवाई दुर्घटनाको छानविन गर्नुपर्ने बताए ।
त्यस्तै अन्य समिति सदस्यहरुले नेपालको हवाई सेवा प्रदायक र नियमक निकायलाई अलग गर्ने गरि छिटो भन्दा छिटो कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।



























































