काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरुले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले महासमिति बैठकमा उठेका महत्वपूर्ण विषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए ।
बैठकमा विभिन्न ११ वटा एजेण्डाहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उक्त एजेण्डाहरुलाई छलफल गरी पारित गर्ने तयारी रहेको उनले बताए ।
बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगाएतका एजेण्डामाथि छलफल भइरहेको छ । बैठक साउन २८ गते सम्पन्न गर्ने गरि छलफल भइरहेको प्रवक्ता महतले बताए ।



























































