नेपाली कांग्रेसका नेता मदन अमात्यसंग हिमालयपोष्टले गरेको कुराकानी


ADVERTISEMENT


नेपाली कांग्रेसको नेतृत्वमा तीनै चरणका निर्वाचन सम्पन्न भएका छन् । तपाई पनि उम्मेदवार हुनुहुन्थ्यो । कस्तो रह्यो अनुभव ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसले एकदमै राम्रो काम गरेको छ । संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्न अगुवाई गर्यो । निर्वाचनले संविधानलाई स्थायित्व दिएको छ । कस्तो परिणामको आशा गरेको थियो कस्तो परिणाम आयो भन्ने कुरा ठूलो होइन । देशमा निर्वाचन सफल भएको छ । प्रजातन्त्रको मेरुडण्डको रुपमा रहेको निर्वाचन हुनसकेन भने जुनसुकै कुरा स्थायी हुन्न । निर्वाचन सम्पन्न गर्नु नै कांग्रेसको ठूलो उपलब्धी हो । त्यसैमा कांग्रेस रमाउनुपर्छ ।

तर देशको बागडोर सम्हाल्नका लागि जित्नुपनि पर्यो नि । त्यसमा अहिले कांग्रेस चुकेको छ । यसको खास कारण के हो जस्तो लाग्छ ?

हेर्नुस्, एउटा कुरा के हो भने जित्नुपर्छ भनेर जेसुकै गरेर जित्नु गलत हो । मलाई याद छ कि ५६ सालमा कृष्णप्रसाद भट्टराईको एउटा ड्राइभरका रुपमा उहाँलाई लिएर चुनावमा पर्सामा गएको थिएँ । मतदानका लागि हरेक बुँथमा हामी घुम्यौँ । बुथको ३-४ सय मिटर वर नै उहाँले गाडि रोक्न लगाउनुहुन्थ्यो । बुथमा गयो भने हाम्रो भोट बढ्छ भन्दा उहाँ आजको दिन म बुँथमा जानु हुन्न भन्नुहुन्थ्यो । यति धेरै नैतिकता उहाँमा थियो । त्यस कारण चुनाव हारजित ठूलो कुरा होइन । चुनाव कसरी लडिन्छ, कसरी लड्नुपर्छ भन्ने महत्वपूर्ण हो । अहिले ठूला नेता भनाउँदाले भोट किनेको र जनताले भोट पैसामा बेचेको पाएँ मैँले । त्यो बडा दुःखको कुरा हो । सावभौम सत्तासम्पन्न जनताले भोट बेचेमा देशको सावभौम सत्तापनि बेचिन्छ भन्ने कुरा हो । यस्तो किसिमको राजनीति गलत हो । भोट हाल्दा विवेक पुर्याउने जनता बनाउनु पर्छ । किसुनजी नेताले जे गर्छ जनताले त्यही गर्छ भन्नुहुन्थ्यो । राजनीतिलाई अहिले व्यावसाय बनाएका कारण जनताले पनि निर्वाचनलाई पैसा कमाउने माध्याम बनाएका छन् । धान रोपेर गहुँको आशा गर्नु, गहुँ रोपेर धानको आशा गर्नु गलत हुन्छ । दोषि हामी सबै जना छौँ । सबैले सुधार गर्दै जानुपर्छ ।

नेपाली राजनीतिमा नेपाली कांग्रेसले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान दिँदै आएको छ । तर यसपालि जनताले पत्याएनन् । आफूलाई लाकतान्त्रिक भन्ने कांग्रेसलाई जनताले मन पराउन छोडेका हुन् ?

एउटा कुरा के हो भने कांग्रेसको विचार कहिल्यै मर्दैन र कसैले मार्न पनि सक्दैन । यदि कसैले सोचेको छ भने त्यो गलत हो । आज देशमा कांग्रेसकै विचार बोकेर एमाले, माओवादी लगायतका पार्टीहरु अगाडि बढेका छन् । सबैले भन्छन् कि लोकतन्त्रको मार्गमा हिंडेका छौँ । कांग्रेसको सिद्धान्त प्राकृतिक हो । मैँले एकपल्ट सुनेको थिएँ गौतम बुद्धको दर्शन संसारमा बढ्दै जान्छ, घट्दैन । किनकी यो सत्यतामा आधारित छ । कांग्रेसको दर्शन, नीति, सिद्धान्त पनि त्यस्तै हो । जुन कहिल्यै घट्दैन । प्रजातन्त्र र स्वतन्त्रता मानिसको जीवनमा अपरिहार्य छ । त्यस कारण कांग्रेसले त्यही कुरालाई ध्यानमा राखेर प्रतिपादन गरेको सिद्धान्त हो । बीचमा त्यो सिद्धान्तलाई अगुवाई गर्ने मानिसहरु, कांग्रेसलाई अगुवाई गर्ने मानिसहरुले कहिलेकाही ट्रयाकभन्दा बाहिर लिए पनि अन्तिममा कांग्रेस आफ्नै लयमा, आफ्नै बाटोमा आउँछ । कांग्रेस अहिले पनि अब्बल दर्जामा छ । एमाले र माओवादीलाई मैले कम्युनिस्ट हुन् भनेकै छैन । उनहीर छद्मभेषी कम्युनिस्ट हुन् । जसले कम्युनिस्टको खोल ओढेर आफ्नो अनुकुल राजनीति गरिरहेका छन् । तर एउटा दुख लाग्दो कुरा के हो भने अहिले पार्टीका केही युवा भनाउँदा साथीहरुले एउटा निर्वाचनमा कम सिट आउने बित्तिकै पाका नेताहरुलाई मनपरी बोल्न थाले । कांग्रेस हारेको छैन । कांग्रेसको भोट भनेको ३२/३३ प्रतिहत मात्रै हो । जुन हामीले निर्वाचनमा ल्याइसकेका छौँ । स्थानीय निर्वाचनमा पनि त भोट आएकै हो नि । जब हामीसंग नभएको भोट कसरी ल्याउन सकिन्छ ?

म यहाँ आउादै थिएँ । निर्वाचन परिणामपछि नेपाली कांग्रेसभित्र पार्टी नेतृत्व परिवर्तनको कुरा गर्दै जुन किसिमका आवाजहरु उठिरहेका छन् । त्यसमा तपाईको भनाई के हो ?

यसमा कुरा के हो भने अलिकती पनि राजनीतिक विश्लेषण नगरीकन, अलिकती पनि संस्थागत सोचलाई नबोकिकन आफ्नै पार्टीको नेतालाई मनपरी भन्ने कुरा अनुशासनहिनता हो । नेता बन्न अनुशासन चाहिन्छ । म हाम्रा युवा नेताहरुलाई भन्न चाहान्छु अनुशासित भएर काम गर्नुस् । तपाईहरुले नै हो भोलि देश चलाउने । पार्टीभन्दा प्रजातन्त्र र प्रजातन्त्रभन्दा देशप्रति इमान्दार हुनुस् । कांग्रेस कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ । केन्द्रिय सदस्यजस्तो पदमा बसेकाहरुले केन्द्रिय कमिटिमा गएर कुरा राख्नुपर्छ । नेतृत्व चित्त नबुझेमा अर्को महाधिवेशनमा अर्को नेतालाई सभापति बनाउनुस् । तर संस्थागत रुपमा चलिरहेको पार्टीलाई बीचमा असुहाउँदो तरिकाले अभिव्यक्ति दिनु राम्रो होइन ।

कांग्रेसलाई जनतासमक्ष अलि नजिक्याउनका लागि वा गुमेका साख फिर्ता गर्नका लागि अब कसरी अगाडि बढ्नुपर्छ ?

मैले घरमा कार्यकर्तालाई भन्ने गरेको छु । कि घरमा यत्तिकै आउँदै नआउनु । आएमा जनताको कुनै न कुनै काम बोकेर आउनु । हामीले जनमुखी भएर हिंड्नुपर्छ । जनताको काम गरेर हिड्नु पर्छ । अहिलेको राजनीति भनेको खुला राजनीति हो । कांग्रेसका हरेक कार्यकर्ताले पहिले कार्यकर्ता बन्न सिक्नुपर्छ । कार्यकर्ता नै बन्न जानेको छैन भने ऊ नेता कसरी बन्न सक्छ ? जनताको बीचमा बसेर काम गर्न जानेको छैन भने, जनताको बीचमा बसेर यसको दु:ख सुखमा रमाउन जानेको छैन भने ऊ कार्यकर्ता हुनसक्दैन । त्यस कारण सबैभन्दा पहिला हामीले यी कुराहरु सिक्नु पर्छ । हाम्रो शक्ति भनेको जनता हो । हरेक कांग्रेसका कार्यकर्ताले कार्यकर्ता बन्न सिक्नुपर्छ । नेताको दास, नोकर बनेर होइन, जनताको सेवक भएर काम गर्नुपर्छ । जो सबैभन्दा धेरै जनताको माझमा जानसक्छ । उसैले लोकप्रियता हासिल गर्ने हो । जनता कांग्रेस नै चाहान्छ । जनताभन्दा पर कांग्रेस छँदैछैन ।

यी सबै कुराहरुका लागि तपाईको भूमिका के रहनसक्छ ? 

मैले एकपटक सांसद बन्ने मौका पनि पाएँ र संसद पनि देखेँ । म जितेर आउँदाखेर मसंग उत्साह थियो, जोश, जाँगर थियो । संसदमा सूर्य बहादुर थापाद्वारा शपथ खाइरहँदा मनमा खिन्नता लाग्यो । हिजो प्रजातन्त्रलाई दमन गर्ने, प्रजातन्त्रका विरुद्धमा लागेर धेरैलाई सहिद बनाउने मानिसको अगुवाईमा शपथ खाँदै गर्दा दुःख लाग्यो । हामीले प्रजातान्त्रिक संस्कार, प्रजातान्त्रिक आचरण स्थापित गर्नुपर्यो । म त्यसैका लागि काम गर्छु । मलाई मन्त्री हुने रहर होइन, मलाई नेता हुने रहर होइन । जनताका लागि म का गर्छु । युवाहरुलाई नेता बनाउने काममा म लाग्ने छु । किनभने हामीकहाँ नेता बन्न सक्ने युवा देखिरहेको छैन । त्यसैले अबको मेरो उद्देश्य, लक्ष्य भनेको नेपाली कांग्रेसलारुई एउटा राम्रो नेता जन्माउने हो । युवा नेताहरुलाई स्थापित गर्ने कार्यमा म लाग्नेछु । यही अठोट मैँले गरेको छु ।

नेपाली कांग्रेसले सबै राजनीतिक आन्दोलनहरुको अगुवाई गर्यो । निर्वाचन सम्पन्न भएर अब देशमा विकास र समृद्धिको एजेण्डालाई अगाडि बढाइरहँदा त्यसमा कांग्रेसको भूमिका के हुन्छ ?

म भर्खरै अमेरिका गएको थिएँ । त्यहाँ नेपाली दाजुभाईलाई पनि भेटेँ । अमेरिकाको सिस्टमभन्दा एक इन्च पनि कोहि बाहिर जान पाउँदैन । सबैले राज्यको नीतिको दायरमा आउनैपर्छ । उहाँहरुले भन्नु भयो कि तपाईहरु नेपालमा सबैभन्दा पहिला पूर्वाधार बनाउनुस्, बाटो बनाउनुस् विकास आफै हुन्छ । अहिलेसम्म विकास कसरी हुन्छ भनेर हामी नेपालीहरुले बुझेका छैनौँ । विकासको मेरुदण्ड के हो हामीले पहिल्याउन सकेका छैनौँ । नेपाल एकदमै सानो देश छ । विकास गर्न त्यती गाह्रो छैन । त्यसमा पनि प्राकृतिक स्रोत साधानमा एकदमै धनी छौँ हामी । नेता हुँ भन्नेले प्रतिवद्ध भएर १० वर्ष म परिवारको लागि नभई राष्ट्रको लागि काम गर्छु भन्ने भावना हुनुपर्यो । त्यो भयो भने देश भेरै माथि पुग्छ । हाम्रो देशको विकासका लागि संसार सहयोग गर्न तयार छ । तर हामीमा काम गर्ने इमान्दारिता चाहियो । यी कुरामा नै नेपाली कांग्रेस लाग्नुपर्यो र लाग्छ पनि ।

अन्त्यमा, अहिलेको अवस्थामा देशको भविष्य र कांग्रेसको अगाडिको बाटो कस्तो देख्नुहुन्छ ?

मैले माथि नै भनेँ नेपाल सम्भावना भएको देश हो भनेर । हामीसंग भएका स्रोत साधानको प्रयोग इमान्दार भएर गर्न सकियो भने चाहेजस्तो विकास र समृद्धि हासिल गर्न सकिन्छ । विकासको अथाह सम्भावना छ । खाली त्यसको व्यवस्थापनको कुरा मात्रै हो । हामीमा विकास हुने मानसिकता हुनुपर्यो । नेताहरुले सात पुस्तासम्म खाने पैसा जम्मा गरेका छन् । अब मलाई पुग्यो । देशको विकास गर्छु भन्ने भावना हुनुपर्यो ।