– धीरु बस्न्यात


ADVERTISEMENT


नेपालको आफ्नै इतिहास छ । इतिहास रच्ने अग्रजहरुको स्तुति गाउँदै नयाँ पिढीँले राष्ट्रको लागि त्याग, तप, जप र समपर्णताकोभावसहित योगदान दिनुपर्छ। विश्व सबै देशहरुमा आखिर उनीहरूका पुर्खाले छोडेका देशलाई तत्कालीन युवा पिढीँहरुले आ–आफ्नो देश बनाएका हुन्। जापानमा अमेरिकन आणविक बम खस्यो, ठूलो तवाह भयो । तर, जापान तीन–चार दशकको युवाहरुको अथक परिश्रमले प्रविधिको क्षेत्रमा पहिलो नम्बर बन्यो। त्यो बेलाको युवा अहिले बुढेसकालमा छन् । तर, उनीहरुले त्यो बेला गरेकै मेहनतको फल र ब्याजले नै सुखदको जिन्दगी गुजारी राखेका छन् । मैँले धेरै अन्तर्राष्ट्रिय सेमिनारहरुमा जापानीहरुसँग भेटेको छु । उनीहरु कम, बिस्तारै बोल्छन् तर आफ्नो अनुष्ठानप्रति उन्मुख छन् । यो उदाहरणको हामी विकल्प छैनौँ।


ADVERTISEMENT

# # #


नेपालमा लाग्छ, अहिलेको अवस्थामा राष्ट्र निमाणार्थ अहिलेका युबाहरु पथ बिचलित भ्रममा परेका छन्। उनिहरु कति शक्तिसाली छन् र देशको लागी उनी कति महत्वपूर्ण छन् भन्ने कुरा न उसलाई कसैले पढाएका छन् न कसैले स्तुति नै गाइदिएका छन् । यो आफै भएका हुन् कि वा गराईएका हुन् ? भन्ने आशकाको ठाउँ देखिन्छ । लयमा नभएका युवाहरु देशको लागि खतरापनि हुन सक्छन्।

राष्ट्रमा प्रकृति प्रद्दत प्रशस्त स्रोतसाधनहरु र मानव संशाधन थिए तर त्यसलाई हामीले बिर्सियौँ। अग्रजहरुले गरेका राम्रा काम भन्दा पनी नराम्रा कामलाई अनुसरण गर्ने परिपाटी बस्यो । । नभए नेपाल अहिले यो परिस्थितिबाट ग्रुजिनु पर्ने अवस्था नै थिएन ?

ताज्जुब लाग्छ, इतिहास रच्ने हाम्रा अग्रजहरुको बारेमा हामीले भनौँ, अहिलेको नयाँ पिडीँले जानेर वा नजानेर बोल्ने गर्छौ ? यो कुरामा प्रष्ट हुन जरुरी छ । अग्रजहरुले अवश्यनै सघर्ष कति दुःख गरेर नै खार्जेका हुन् यो मुलुक । राष्ट्रलाई हिजो यो अवस्थामा ल्याउन रत्नपार्कमा बसेर बदाम छोडाउँउदै गफ हाँक्दै ल्याएका त होईन होला नी । लाग्छ, अहिले पुराना पिढीँले दुःखले अर्जेको यो राष्ट्र नेपालको ब्याज मात्रै दशौँकोदेखि खादै आयौँ हामीले । अब त हुँदाहुँदा सावाँ पनि खाना लाग्यौँ । त्यसैले पुरानाले गर्न सकेनन् । उनीहरुको दिमाग, शरीर मक्किसकेका छन् । देश उनीहरुकै कारणले बन्न नसकेको हो भन्दै तथानाम गाली गर्दै आफूलाई शुद्धिकरण गर्ने खोजेको झैँ लाग्छ ।

यस प्रवृत्तिको भरमै नयाँ उमेरका व्यक्तिहरुले नेता बन्न खोज्नु, अरुलाई गाली गरेकै भरमा लोकप्रिय बन्न खोज्नु अनि मिडियाकै भरमा हिरो बन्न खोज्नु जनतालाई बेवकुफ बनाउनु सिबाय केही होईन । यसले हामी बीच बेमेल र कलहको अवस्था ल्याउन सक्छ। यो चुरो कुरालाई हामीले बुझ्न जरुरी छ । आज कसैले बोलेको र भाषण गरेकै भरमा पत्याउनै हुन्न। कागले कान लग्यो भन्दा कागको पछि लाग्नु भन्दा पनि कान समातेर हेर्नु उपयुक्त हुन्छ न कि कागको पछाडि बतासिनु । आज बोल्ने होईन, आफूलाई काम गरेर प्रमाणित गर्नसक्ने नयाँ पुस्ताको जरुरत छ।

आफ्नो योग्यता, क्षमता अनि अनुष्ठानलाई प्रमाणित गर्नुपर्ने छ । एकले अर्कोलाई गाली गर्ने र बदनाम गर्ने प्रवृत्तिले वातावरणलाई प्रदूषण मात्रै होईन कि अहिले नेपालीको चरित्रलाईनै विश्व माझ उदाङ्गो गर्छ नै । तसर्थ नयाँले पुरानालाई दोष लगाउने सिद्धान्त भन्दा पनि ‘शो मी’ अर्थात् ‘गरेर देखाऊ’ सिद्धान्तलाई अगाल्नु पर्छ ।

राष्ट्रले सदैव गाली होईन, राष्ट्रको लागि योगदान अनि काम गरेर देखाउन सक्ने क्षमतावान व्यक्तित्वको अति खोजी गरेको छ । दिन रात अबिरल खटिन सक्ने मेहनती निष्ठावान व्यक्तित्व चाहेको छ । खाली बोल्ने जिब्रो होईन । गालीको द्वन्द्वबीच राष्ट्र र जनता अब रमिते बन्न सक्तैन । जनताको लागि राष्ट्रमा शान्ति सुरक्षा, कानुनको शासन, सुशासन अनि राष्ट्रको विकास खोजेको छ । भोक्ने कुकुरले टोक्दैन भनिन्छ । भुकेर र जिब्रो चलाएर राजनिती गर्ने प्रवृत्तिलाई हतोत्साही गर्नैपर्छ । यो कुरालाई नयाँ अनुहारले मनन गर्नुपर्छ भने पुराना अनुहारले पनि हामीले गर्न नसकेको बाँकी कुरालाई नयाँ अनुहारले पुर्णता दिन्छ भन्ने विश्वास राख्नुपर्छ । राष्ट्रको हितको लागि पुरानाले मार्ग प्रशस्त गर्दै नयाँलाई अवसर दिनुको अब विकल्प नै छैन । पद ओगटिराख्ने मात्रै होईन । पुरानाका अनुभव र नयाँका ज्ञान अनि तागतको स्वस्थ समीश्रण हुनैपर्छ । तब मात्र राष्ट्र प्रगतिको मार्गमा लम्कन सक्छ ।

(बस्न्यात पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक हुन् ।)