काठमाडौं – नेपालमा अब पोट्रेबल आर्टिफिर्सिल इन्टेलिजेन्सयुक्त एक्सरे मेसिनमार्फत क्षयरोग पहिचान गर्न सकिने भएको छ । नेपाल सरकारले उक्त मेसिन पहिलो पटक भित्र्याएको हो ।
नेपालले ३ वर्ष अघि नै मेसिन खरिदको प्रक्रिया अघि बढाएको थियो । जसको मूल्य प्रत्येक मेसिनको ९० लाख रहेको र ९ वटा मेसिन ल्याइएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले जानकारी दिए । उक्त मेसिन खरिदका लागि ग्लोबल फन्डले आर्थिक सहयोग गरेको श्रेष्ठको भनाई छ ।
केन्द्रले खरिद गरेको उक्त मेसिन प्रत्येक प्रदेशलाई १–१ वटा वितरण गरिएको छ भने २ वटा केन्द्रमा राखिने छ । यससँगै अब प्रत्येक प्रदेशमै क्षयरोगको पहिचान गर्न थप सहयोग गर्नुका साथै सरकारको क्षयरोगमुक्त अभियानमा समेत सहयोग पुग्ने केन्द्रका विश्वास छ । केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगको कुनै पनि लक्षण भएको अवस्थामा एक्सरे गरेर मात्रै खकारको परीक्षण गराउँदा हुने अवस्था आएको बताए ।
ब्याट्रीले चल्ने उक्त मेसिन एकपटक चार्ज गरेपछि २ सय बिरामी परीक्षण गर्न सक्ने र दैनिक ४ सय बिरामीको परीक्षण गर्न सकिने उनले जानकारी दिए । उनले भने, ‘दुई सातासम्मको निरन्तर खोकी तथा क्षयरोगको शंका लागेमा खकार परीक्षण गरौं भन्ने नारा वर्षौंदेखि प्रयोग हुँदैं आए पनि मेसिनले नयाँ आयाम थपिदिएको छ ।’
उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सयुक्त उक्त मेसिनले नै बिरामीलाई खकार परीक्षण आवश्यक भए, नभएको जानकारी दिने गर्छ। यसको प्रयोग रेडियोलोजिष्ट तथा तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्न सक्ने उनको भनाई छ ।
उक्त मेसिनको प्रयोगका लागि केन्द्रले प्रदेश र केन्द्रका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । तालिममा प्रत्येक प्रदेशबाट ४ जना स्वास्थ्यकर्मी सहभागी थिए ।