काठमाडौं-एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी ३६ पटकसम्म अनुत्तीर्ण भएको पाइएपछि काउन्सिल पदाधिकारी नै चकित परेका छन् ।


ADVERTISEMENT


३६ पटक असफलताको स्वाद चाखेका ती विद्यार्थी दुई महिनाअघि भएको लाइसेन्स परीक्षामा भने सहभागी थिएनन् । उनले वर्षमा तीन पटकसम्म परीक्षा दिएका थिए । ३६ पटकसम्म असफल हुने ती विद्यार्थीको मोटिभेसनको तारिफ गर्ने काउन्सिलका पदाधिकारी यदि त्यस्तो विद्यार्थी उत्तीर्ण भए कस्तो उपचार गर्थे होलान् ? भन्ने जिज्ञासामा भने मौन छन् ।


ADVERTISEMENT

# # #


प्रत्येक पटक असफल नतिजा भोगेका ती विद्यार्थी प्रदेश २ को भएको काउन्सिल स्रोतले जनाएको छ । काउन्सिल पदाधिकारीको एउटै जिज्ञासा छ, १२ वर्षदेखि परीक्षा दिइरहेका ती विद्यार्थी अहिले के गरिरहेका होलान् ?

डाक्टरी पढाइका लागि बर्सेनी नेपालबाट अर्बौं धनराशि विदेश पलायन भएको छ । पढेर फर्किएका सयौं विद्यार्थी लाइसेन्स परीक्षामा फेल भइरहेका छन् । अवस्था कहालीलाग्दो छ । डेढ महिनाअघि काउन्सिलले लिएको एमबीबीएसको लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका विद्यार्थीमध्ये झन्डै ९० प्रतिशत मात्र उत्तीर्ण भए ।

नेपाल मेडिकल काउन्सिलका पदाधिकारी विदेश पढ्न जाने अधिकांश विद्यार्थी मेधावी नभएको तर्क गर्छन् ।
काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटा भन्छन्, ‘मेडिकल शिक्षा पढ्नका लागि योग्य नै नभएका व्यक्तिलाई पैसाकै बलमा अभिभावकले जसरी भए पनि विदेश पढ्न पठाउँछन् । त्यस्ता विद्यार्थीले लाइसेन्स परीक्षा नै पास गर्न सक्दैनन्।’

विदेशका १० वटा मुलुकबाट एमबीबीएस पढेर आएका कुल पाँच सय २६ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा ५८ जना मात्र उत्तीर्ण भए । दुई महिनाअघि २०१७ डिसेम्बरमा लिइएको लाइसेन्स परीक्षामा ११ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुँदा विदेशमा पढेर आएका विद्यार्थीको योग्यतामा प्रश्न उठेको छ ।

एमबीबीएस उत्तीर्ण गर्दासम्म प्रतिविद्यार्थी औसत ५० लाख खर्च हुने गरेको छ । वर्षमा झन्डै साढे चार अर्ब रुपैयाँ मेडिकल शिक्षाका लागि बिदेसिने गरेको छ ।

काउन्सिलका अध्यक्ष बास्कोटा बाहिरी मुलुकका मेडिकल कलेजको शैक्षिण गुणस्तर अनुगमन गर्नु पहुँच बाहिरको विषय भएकाले यस्तो नतिजा आएको तर्क गर्छन् । उनी थप्छन्, ‘पढेर आइसकेपछि फेक सर्टिफिकेटका रूपमा हेर्न मिल्दैन । हाम्रो मापदण्डमा प्रवेश गराउनका लागि लाइसेन्स परीक्षा लिनै पर्ने हुन्छ । परीक्षा लिँदा १० प्रतिशत मात्र पास हुनुले कमजोर विद्यार्थी विदेशमा पढ्न गएजस्तो देखियो ।’

काउन्सिलका अनुसार पाकिस्तान, किर्गिस्तान, जर्जिया र बेलारुसमा एमबीबीएस पढेर आएका कोही पनि सफल हुन सकेनन् । यी चार देशमा पढेका २३ जना विद्यार्थीले यसअघिको परीक्षामा पनि असफल भएको काउन्सिल स्रोतले बतायो ।

एमबीबीएसको जस्तै निराशाजनक तस्बिर बीडीएसको पनि छ । बंगलादेश र फिलिपिन्सबाट बीडिएस पढेर आएका ८ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा सबै असफल भए । काउन्सिलका अनुसार बंगलादेशबाट बीडीएस पढेर आएका ६ जना परीक्षामा सहभागी थिए भने फिलिपिन्समा पढेर आएका दुई जना परीक्षामा सहभागी थिए ।

अभिभावकको अनुभवमा एउटा विद्यार्थीले साढे पाँच वर्षको एमबीबीएस पढाइ सकेर स्वदेश फर्कंदासम्म झन्डै ५० लाख खर्च गर्ने गरेको छ ।

विदेश पढ्न पठाए पनि स्वदेशमा फर्केर लाइसेन्स परीक्षा उत्तीर्ण नगर्दासम्म अभिभावकको अवस्था न दिनको भोक न रातको निद्रा हुने गरेको छ । अन्य मुलुकबाट एमबीबीएस सकेर आएका विद्यार्थीको पनि अवस्था सन्तोषजनक छैन । चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीमध्ये झन्डै ९४ प्रतिशत असफल भएका छन् । बंगलादेशमा पढेर आएका १ सय ४४ जनाले परीक्षा दिएकोमा ७५ प्रतिशत असफल भए । फिलिपिन्समा पढेर आएका २३ जना विद्यार्थीमध्ये १९ जना विद्यार्थी असफल भए ।

त्यस्तै, युक्रेनमा एमबीबीएस पढेर आएका २० जनामध्ये १३ जना असफल भए । भारत र रुसबाट एमबीबीएस पढेर आएका १२/१२ जना विद्यार्थी लाइसेन्स परीक्षामा सहभागी भएका थिए । तीमध्ये भारतबाट आएका पाँच जना फेल भए । रुसबाट आएका सात जनाले असफलता भोगे ।-आजको अन्नपूर्णबाट