काठमाडौँ – काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आयोजक नेपाल भारतलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको छ ।
आइतबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा १–१को बराबरी भएपछि भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
खेलको ५१औँ मिनेटमा नेपाली फावार्ड रेखा पौडेलले दोस्रो पहेँले कार्डसँगै खेलबाट बाहिरिनुपरेपछि १० खेलाडीमा सीमित भएको थियो । रेखाले रातो कार्ड पाएपछि स्थिति केहीबेर तनावपूर्ण बनेपछि खेल रोकिएको थियो ।
७१औँ मिनेटमा भारतकी संगीता बस्फोरले डीबक्स बाहिरबाटै उत्कृष्ट गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन् । भारतले गोलको खुसुयाली मनाइरहेका बेला नेपालले बल अगाडि बढाउँदै भारतको पोस्टमा गोल गर्यो । जबकी भारतीय अधिकांश खेलाडी आफ्ना स्थानमा आइसकेका थिएनन् भने गोलकिपर समेत पोस्टमा थिइनन् ।
उक्त गोललाई मान्यता दिने वा नदिने भन्नेमा विवाद हुँदा खेल झण्डै ६८ मिनेट रोकिन पुग्यो भने स्थिति तनावपूर्ण बन्यो । निकै वादविवाद पछि नेपालको उक्त गोललाई मान्यता दिइएन र खेल पुनः सुरु भयो ।
खेल सुरु भएको दोस्रो मिनेटमै नेपालकी साबित्रा भण्डारीले सानदार गोल गर्दै नेपाललाई १–१को बराबरीमा पुर्याइन् । अन्त्यमा खेल १–१ बराबरीमै रोकिएपछि पेनाल्टीमार्फत नतिजा टुंगो लाग्यो । पेनाल्टीमा सुरुवाती बलमै भारतकी कप्तान असलता देवीले पेनाल्टी मिस गरेपछि भारत दबाबमा आयो । भारतले तेस्रो बलमा समेत गोल गर्न असफल भएपछि नेपालले खेल ४–२ ले हात पारेको हो ।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्नेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै बंगलादेश प्रतियोगिताको फाइनल पुगिसकेको छ । नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।


























































