काठमाडौं–  प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं झरेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् । त्यस्तै पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउन लागेको शाहीले बताए ।


ADVERTISEMENT

# # #


एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी परेनन् । त्यसपछि उनले अपमानित महशुस गर्दै राजीनामा दिएको बताए ।

शाहीले भने( नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाए । पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाइयो । ममाथि सहनै नसकिने अन्याय गरेपछि धेरै पीडावोध महशुस गरेर राजीनामा दिएको हुँ ।

एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए । उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोपसमेत लगाए ।

‘नवप्रवेशी र पार्टीमा कुनै योगदान नगरेका व्यक्तिहरुलाई आर्थिक चलखेल गरेर मन्त्री बनाइन्छ भने यस्तो पार्टीमा कसरी बस्न सकिन्छ रु’ शाहीले भने, ‘पार्टीमा लागेर जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै केन्द्रीय कमिटीसम्म पुगेको व्यक्तिमाथि यो भन्दा ठूलो अपमान केही हुँदैन’ ।

एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए । उनी यसअघि एमालेको कर्णाली अन्चल समन्वय कमिटी सदस्य थिए । पार्टीभित्र उनी माधव नेपाल खेमाका मानिन्छन् ।