काठमाडौं-प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । एक सय ७ सदस्यीय प्रदेशसभामा उनका पक्षमा दुईतिहाइ मत परेको छ । नेपाली कांग्रेसबाहेक सबै दलले राउतलाई विश्वासको मत दिएका हुन्।


ADVERTISEMENT


प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरम, राजपा, एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र गरी ८२ जना सांसदले राउतका पक्षमा मतदान गरे । कांग्रेसका १८ सांसदले विपक्षमा मतदान गरे । पक्ष र विपक्षमा गरी एक सय मत खस्यो । मतदानमा कांग्रेसका ओमप्रकाश यादव, एमालेका अनिताकुमारी यादव र त्रिलोकीप्रसाद तथा माओवादी केन्द्रका कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिम र रामकुमार यादव अनुपस्थित रहे । सभामुख सरोजकुमार यादवले मतदान गर्नुपर्ने अवस्था आएन ।


ADVERTISEMENT

# # #


प्रदेशसभामा फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादीका ११, नेपाल संघीय समाजवादी पार्टीका एक र स्वतन्त्र एक सदस्य छन् । फोरम संसदीय दलका नेता राउत राजपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।

प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राउतले सबै दलका नेतालाई भेटेर विश्वासको मत दिन लिखित अनुरोध गरेका थिए।

राम्रो काम गर्ने विश्वासका साथ मुख्यमन्त्री राउत नेतृत्वको सरकारका पक्ष मतदान गरेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए । माओवादी केन्द्रका नेता भरत साहले पनि सकारात्मक बाटोमा हिँड्ने भनेर पक्षमा मतदान गरेको बताए । साहले भने, ‘जनअपेक्षाअनुरुप काम गर्न सरकारलाई हाम्रो पनि सहयोग छ । भविष्यमा सरकारले सञ्चालन गर्ने कामको गुण र दोष आधारमा समर्थन र विरोध गर्नेछौं ।’ एमाले र माओवादीले सरकारमा सहभागी नभए पनि विश्वासको मत दिएका हुन् ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न विपक्षमा मतदान गरेको प्रतिक्रिया दिए । ‘प्रतिपक्षबिनाको सरकार तानाशाह हुनसक्छ’, यादवले भने, ‘सरकारलाई निरन्तर खबरदारी गर्न हामीले प्रतिपक्षमा बस्ने निर्णय गरेका हौं ।’ कांग्रेसका अर्का एक सांसदले भने सरकारमा सहभागी नगराईकन विश्वासको मत मागेकाले विपक्षमा उभिएको बताए । ती नेताका अनुसार कांग्रेसले कम्तीमा एक मन्त्रालय, उपसभामुख र केही संसदीय समितिको सभापति पाउने अपेक्षा गरेको थियो ।

विश्वासको मत पाएका मुख्यमन्त्री राउत एकदुई दिनभित्रै सरकार विस्तार गर्ने तयारीमा छन् । राउतले चाँडै मन्त्रिपरिषद् विस्तार गरी युद्धस्तरमा समृद्धिको अभियान अगाडि बढाउने बताए । अहिले मन्त्रिपरिषद् तीन सदस्यीय छ । फोरमका विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री र राजपा संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधार मन्त्री छन् ।