काठमाडौं-संघीय समाजवादी फोरम संविधान संशोधनको सशर्त एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । एमालेसँग बिहीबार भएको बैठकमा फोरमले सर्तसहित सरकारमा सहभागी हुन राजी भएको हो।


ADVERTISEMENT


एमाले अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता गर्न फोरमका अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुरबाट काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसहित एमालेका नेतासँग कुराकानी गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


यादव काठमाडौं आउनेबित्तिकै बिहीबार उनले पार्टीका शीर्ष नेतासँग सरकारमा सहभागिताबारे आन्तरिक कुराकानी गरेका थिए । स्रोतका अनुसार पार्टीका अधिकांश नेताले संविधान संशोधनमा एमाले प्रतिबद्ध भए फोरम सरकारमा जान उपयुक्त हुने सल्लाह दिएका छन्।

बिहीबारको बैठकमा फोरमले एमालेसँग यसअघि आफूले उठाएको मुद्दा र संविधान संशोधनमा सहमति जुटाउन एउटा संयुक्त कार्यदल बनाउन प्रस्ताव गरेको स्रोतले जानकारी दियो । फोरम प्रस्तावलाई एमालेले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

फोरमका एक नेताले भने, ‘हामी सरकारमा जान मानसिक रूपमा तयार भइसकेका छौं । उहाँहरू पनि हामीलाई सरकारमा लैजान तयार हुनुभएको छ । खाली कसरी प्रक्रिया मिलाउने भन्ने कुरामा मात्र हो।’

फोरमका महासचिव रामसाह यादवले सरकारमा सहभागिताबारे शुक्रबार एमालेसँग निर्णायक वार्ता हुने बताए। ‘निर्णायक वार्ता गर्न अध्यक्षज्यू बिहीबार जनकपुरबाट काठमाडौं आउनुभएको छ । शुक्रबार एमालेसँग निर्णायक वार्ता हुन्छ,’ उनले भने । एमालेले संविधान संशोधनमा प्रतिबद्धता जनाए फोरम सरकारमा जाने उनले भने । उनले भने, ‘एमालेले एउटा समयसीमा राखेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी सरकार जान सकारात्मक छौं ।’

प्रदेश २ मा संघीय समाजवादी फोरमका तर्फबाट मुख्यमन्त्री भएका लालबाबु राउतलाई बिहीबार एमालेले विश्वासको मत दिएको छ । यसबाट पनि फोरम सरकारमा जाने निश्चित भएको फोरमका अर्का नेता बताउँछन । फोरम राजनीतिक समितिकी सदस्य रेखा यादवले भनिन्, ‘एमाले र फोरमबीचको वार्ता सकारात्मक छन् । हामी सरकारमा जाने परिस्थिति निर्माण हुँदैछ ।’

फोरमका अर्का एक नेताले फोरम सरकारमा गए फोरमले कम्तीमा पनि तीन मन्त्रालय पाउनुपर्ने माग राखेका छन् । तर मन्त्रालय बाँडफाँटबारे छलफल नभएको ती नेताले बताए । उनले भने, ‘अहिले हामी सरकमा जाने प्रक्रिया मिलाउँदैछौँ । मन्त्रालय बाँडफाँटमा छलफल भएको छै न।’

राजपालाई बेवास्ता
एमालेले राष्ट्रिय जनता पार्टी नेपाललाई भने सरकारमा लैजान चासो देखाएको छैन । केपी ओली प्रधानमन्त्री हुनुअघि उनले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग एकपटक कुराकानी गरेका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि ठाकुरसँग कुराकानी भएको छैन । राजपाका अध्यक्ष मण्डलका अन्य नेताहरूसँग पनि ओलीले कुराकानी नगरेको स्रोतको भनाइ छ । राजपाका नेताहरूले एमालेले राजपालाई बेवास्ता गरेको गुनासो गरेका छन् । राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झाले भने, ‘सरकारमा जाने विषयमा एमाले र राजपाबीच छलफल भएको छैन । एमाले पनि चासो दिएन । हामीले पनि चासो देखाएका छैनौँ।’

स्रोतका अनुसार दुईतिहाइ जुटाउन एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन प्रयास गरेका छन् । फोरम सरकारमा आउनेबित्तिकै सरकारको पक्षमा दुईतिहाइ जुट्ने भएकाले एमालेले राजपालाई कम महत्त्व दिएको स्रोतको दाबी छ ।