सामिया नस्र, बीबीसी – सिरियाको अवस्था यति छिटो परिवर्तन हुनेछ भन्ने धेरैलाई कल्पना थिएन। केही दिनमै शक्तिशाली देखिने राष्ट्रपति बसर अल असद कुर्सी छोडेर मस्को भागेका छन् ।
केही दिनअघि मात्रै देशको उत्तरी सहर इदलिबमा रहेको सशस्त्र विपक्षी समूह हयात तहरीर अल–शामको नेतृत्वमा सरकारविरुद्ध कारबाही सुरु भएको थियो।
जबकी यस समूहले एकपछि अर्को गर्दै धेरै ठूला सहरहरू कब्जा गर्यो । एक साताअघि बसर अल असदले ुआतंकवादीहरूलाई कुचल्नेु वाचा गरेका थिए।
तर जमिनमा परिस्थिति जुन गतिमा परिवर्तन भए, यसले सिरियाली मामिलाहरू हेर्ने अधिकांश मानिसहरूलाई छक्क पारेको छ। यो पूरै घटनाले धेरै प्रश्न खडा गरेको छ ।
सिरियाली सेनाले विद्रोही लडाकुहरूको यो आश्चर्यजनक आन्दोलनलाई किन रोक्न सकेन भन्ने सबैभन्दा ठूलो प्रश्न हो। एकपछि अर्को गर्दै धेरै सहरबाट सेना किन पछि हट्यो ? यसका पछाडि कारणहरू के हुन सक्छन् ?
१५०० ट्याङ्क, लडाकु विमान र सशस्त्र सवारीसाधन…
सन् २०२४ को लागि १४५ देशको ग्लोबल फायर पावर इन्डेक्सका अनुसार सिरिया अरब क्षेत्रको छैठौं र सैन्य शक्तिका आधारमा अन्तर्राष्ट्रिय रूपमा ६६औँ स्थानमा छ। यस वरीयताका लागि सैनिकको संख्या, सैन्य उपकरण, मानव संसाधन र रसद आदिलाई ध्यानमा राखिन्छ ।
सिरियाली सेनालाई अर्धसैनिक बल र सिभिल मिलिसियाको पूर्ण समर्थन थियो। यो सेना रुसजस्ता सहयोगी राष्ट्रहरूबाट प्राप्त हुने सैन्य उपकरण र सोभियत सङ्घकालीन उपकरणहरूमा निर्भर थियो।
ग्लोबल फायर पावरका अनुसार सिरियाली सेनासँग १,५०० भन्दा बढी ट्याङ्क र ३,००० बख्तरबंद गाडी छन्। सेनासँग आर्टिलरी र मिसाइल प्रणाली पनि छ।
सिरियाली सेनासँग हवाई युद्ध लड्ने हतियार पनि छ। यसमा लडाकु विमान, हेलिकप्टर र प्रशिक्षण विमानहरू छन्। यसबाहेक सेनासँग सानो नौसैनिक फ्लीट पनि छ।
सिरियाली नौसेना र वायुसेनासँग पनि लाटाकिया र टार्टस जस्ता धेरै महत्त्वपूर्ण विमानस्थल र बन्दरगाहहरू छन्।
तथ्याङ्कका अनुसार सिरियाली सेनाको अवस्था राम्रो देखिए पनि यस्ता केही धारण छन्, जसले सिरियाली सेनालाई कमजोर साबित गरिदिएको छ ।
सिरियाली गृहयुद्धको प्रारम्भिक दिनको तुलनामा यस सेनाले आफ्ना हजारौं लडाकुहरू गुमाएको छ। युद्ध सुरु हुँदा सिरियाली सेनामा करिब तीन लाख सैनिक थिए । अब यो संख्या आधा मात्र बाँकी थियो।
सिपाहीको संख्यामा ह्रास दुई कारणले भएको हो– पहिलो, लडाइँमा मृत्यु र दोस्रो, ठूलो संख्यामा सैनिकले रणभूमि छाडेर विद्रोहीसँग हात मिलाएको ।
सिरियाली वायुसेनाले पनि विद्रोही र अमेरिकाको हवाई आक्रमणको सामना गर्नुपरेको थियो, जसका कारण यो निकै कमजोर भएको थियो ।
सैनिकको ‘तीन दिनको तलब’ मात्रै
सिरियासँग तेल र ग्यासको महत्त्वपूर्ण भण्डार छ, तर युद्धका कारण ती भण्डारहरूको उत्खनन् गर्ने क्षमतामा उल्लेखनीय गिरावट आएको छ।
पूर्ण रूपमा असद सरकारको नियन्त्रणमा रहेका देशका भागहरूमा आर्थिक स्थिति झनै खस्किँदै गएको छ। यसको कारण थियो अमेरिकाको सिजर ऐन।
डिसेम्बर २०१९ मा लागू भएको यस ऐन अन्तर्गत अमेरिकाले सिरियाली सरकारसँग काम गर्ने कुनै पनि सरकारी निकाय वा व्यक्तिमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो।
धेरै रिपोर्टहरूमा, असद सरकारका सैनिकहरूलाई कम तलब दिइने संकेतहरू छन्। त्यस्ता रिपोर्टमा सैनिकले हरेक महिना १५ देखि १७ डलर मात्र तलब पाइरहेको बताइएको छ । एक सिरियाली नागरिकका अनुसार, ‘यति पैसा तीन दिनका लागि पनि पुग्दैन।’
युनिभर्सिटी अफ लण्डनका विदेश मामिलाका प्राध्यापक फवाज गिरगिस भन्छन्, सिरियाको अवस्था विगत तीन वर्षमा निकै परिवर्तन भएको छ ।
उनी विश्वास गर्छन्, ‘अमेरिकी प्रतिबन्धहरूले सिरियामा गरिबी निम्त्यायो। सैन्य अधिकारीहरूले पनि आफूले पाउनुपर्ने पैसा पाएनन्। उनीहरूसँग पर्याप्त खाना थिएन। समग्रमा उनीहरू कठिन मनोवैज्ञानिक अवस्थामा थिए। यीमध्ये धेरै सैनिकहरू भोकको नजिक थिए ।’
सिरियाली सरकारी समाचार एजेन्सीका अनुसार अल–असदले गत बुधबार सैनिकको तलबमा ५० प्रतिशत वृद्धिको घोषणा गरेका थिए।
यसको उद्देश्य स्पष्ट रूपमा विपक्षी सेनाहरूको प्रगतिको बीचमा सैनिकहरूको मनोबल बढाउनु थियो। तर, यो कदम धेरै ढिलो भएको देखिन्छ।
पछि हटे असदका सहयोगी हात
तैपनि, सशस्त्र विपक्षीसँगको लडाइँको क्रममा धेरै सैनिक र अफिसरहरूले अकस्मात् मोर्चा छोड्नु साँच्चै अचम्मको कुरा हो।
जसका कारण विपक्षी लडाकुहरूले अलेप्पोबाट दमास्कससम्म तीव्र गतिमा अघि बढिरहेका थिए। सिरियाली सैनिकहरू हामा र होम्स हुँदै गए र आफ्ना सैन्य उपकरण र हतियारसमेत सडकमा छोडे।
दमास्कसमा बीबीसी संवाददाता बारबरा आशेरले पनि सहरका केही सिपाहीहरूले आफ्नो सैन्य वर्दी फुकालेर सभिल लुगा लगाएको बताएकी छन्। बेरुतको कार्नेगी मिडल इस्ट सेन्टरका वरिष्ठ फेलो डा. याजिद सायेघ भन्छन्, ‘सिरियाली सेनाको पतन लगभग पूर्णतया असदको नीतिले गर्दा भएको हो।’
डा. सायेघ भन्छन् कि सेनाले सन् २०१६ सम्ममा विपक्षीमाथि लगभग पूर्ण विजय हासिल गरिसकेको थियो । तर त्यसपछि सत्तामा रहन असदले यसको गैरकानुनी रूपमा प्रयोग गरे ।
डा. सायेघले भने, ‘यी नीतिहरूको प्रभाव सेनामा परेको थियो, हजारौं सैनिकलाई सेनाबाट निष्कासन गरिएको थियो, त्यसै क्रममा जनताको जीवनस्तरमा चरम ह्रास आयो, व्यापक भ्रष्टाचार भयो, खाद्यान्नसमेत कमी आयो । यहाँसम्म कि सेनाको लागि खाद्यान्न आपूर्तिको समय अभाव भयो । यसै कारण पनि सेनाको उच्च पदमा बसेका अल–असदको शिया अलवी समुदायका जनरलहरू अलग्गिए।’
इरान, हिजबुल्लाह र रुसबाट प्रत्यक्ष सैन्य सहायतामा कटौतीका कारण सेनाको मनोबल पनि खस्कियो । यी तीन दलले पहिलेको तुलनामा अब पर्याप्त हस्तक्षेप गर्न सकेका छैनन् । सेनाले आफ्ना सहयोगीहरूबाट तत्काल सहयोगको कुनै प्रतिज्ञा नगरी लड्ने इच्छा गुमाएको थियो।
लन्डनको किंग्स कलेजमा युद्ध अध्ययनका विजिटिङ प्रोफेसर तथा बेलायती सैन्य विज्ञ प्रोफेसर माइकल क्लार्कका अनुसार सिरियाली सेना विदेशी सहायतामा निर्भर थियो। उनका अनुसार सेनामा तालिमको अभाव थियो भने उच्च स्तरका सेनाहरु पछि हट्दा तल्लो पदका सेनामा पनि निराशा छाएको थियो ।
यो पनि सत्य हो कि फेब्रुअरी २०२२ मा युक्रेन युद्धको आवश्यकताका कारण रुसले लाटाकियामा रहेको आफ्नो बेसबाट ठूलो संख्यामा आफ्ना विमान र सेना फिर्ता लिएको थियो।
डा फवाज सहमत छन् कि इरान, हिजबुल्लाह र रसियाले सैन्य समर्थन बन्द गरेको थियो। र यो ‘आधारभूत कारणहरू मध्ये एक थियो जसको कारणले गर्दा एकपछि अर्को सिरियाली सहर विद्रोहीहरूको नियन्त्रणमा परेको थियो।’
उनी थप भन्छन्, ‘यसपटक सिरियाली सेनाले असदको सरकारलाई बचाउनको लागि लडाइँ गरेन। उल्टो सेनाले लडाईबाट पछि हट्ने र आफ्ना हतियारहरू छोड्ने निर्णय गर्यो। यसले देखाउँछ कि सन् २०१५ पछि रुस र हिजबुल्लाहमार्फत इरानी समर्थन कति महत्वपूर्ण थियो ।’
यसका साथै विपक्षी नेताहरुबाट पनि केही महत्वपूर्ण वक्तव्यहरु बाहिर आए। उनीहरुले सिरियाली नागरिकहरूलाई विपक्षीहरूले सबै सम्प्रदायहरूलाई सम्मान गर्ने आश्वासन दिए। विज्ञहरूको रायमा यस्ता बयानहरूले विपक्षी समूहहरूको मिशनलाई सजिलो बनाइदियो ।
डा. फवाज गिरगिस विश्वास गर्छन् कि यो सम्पूर्ण घटना ‘सन् १९७९ मा इरानको शाही शासनको पतनसँग मिल्दोजुल्दो छ।’
उनी भन्छन्, ‘सिरियाली विपक्षी, त्यसका इस्लामवादी र राष्ट्रवादी पक्ष दुवैले दुई हप्ताभन्दा कम समयमा सिरियाली शासनलाई ध्वस्त पार्न सफल भएका छन्। असदको सरकारले वास्तवमा अन्तिम सास फेरिरहेको थियो। र जब विपक्षीहरूले आक्रमण गरे, सेना ध्वस्त भयो। सिसाको घर जस्तै सम्पूर्ण प्रणाली ध्वस्त भयो।’